site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक मन्त्रिपरिषद् लैजानुपर्नेमा जोड, सांसदहरू भन्छन्– कुनै हालतमा हुँदैन

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक मन्त्रालयको तर्फबाट मन्त्रिपरिषद् हुँदै सदनमा लैजानुपर्ने धारणा राखेको छ । जसमा राष्ट्रियसभाका सांसदहरूले आपत्ति जनाएका छन् ।

सोमबार विधायन व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकमा राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ माथि छलफल भएको थियो । यो विधेयक गैरसरकारी विधेयक हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विधेयकमाथिको छलफलमा गृह मन्त्रालयको तर्फबाट उपस्थित सहसचिव तुलसीबहादुर श्रेष्ठले गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधेयकलाई मन्त्रालयको माध्यमबाट मन्त्रिपरिषद् हुँदै सरकारी विधेयकको रूपमा अघि बढाउन चाहेको बताए ।

“गृहमन्त्री बिरामी भएर आउन सक्नुभएन । गृहसचिव अख्तियारमा कार्यक्रम भएर जानुभयो त्यसैले बैठकमा म आएको छु । यसबारे मलाई सबै कुरा थाहा त छैन,” उनले बैठकमा भने, “तर, मन्त्रीज्यूले सबै होमवर्क गरेर गृह मन्त्रालयबाट विधेयक अघि बढाउनुपर्छ, मन्त्रिपरिषद्‌मा लैजानुपर्छ भन्नुभएको छ र यहीँ कुरा बैठकमा राखेर आउनु भन्नुभएको छ ।”

उनी बोलिनसक्दै विधेयक मस्यौदाकार सांसद रमेशजंग रायमाझीले सांसदलाई कम आक्ने भन्दै गृह मन्त्रालय भन्दा सार्वभौम संसद् ठूलो हुने जिकिर गर्दै जवाफ दिए । उनले मन्त्रालयले अघि बढाउन चाहेको भए बेलैमा विधेयक किन नबनाएको भन्दै प्रतिप्रश्न गरे । मन्त्रिपरिषद्‌मामा विधेयक लैजाने कुरा आफूहरूलाई मान्य नभएको स्पष्ट पारे ।

“सांसदलाई गुम्राहमा राख्ने कुरा ठिक छैन । यो विधेयक सबै दलको सहमतिमा आएको हो । गृह मन्त्रालय भन्दा ठूलो संसद् हो,” रायमाझीको जवाफ थियो, “गृहले पहिले सोेचेर विधेयक ल्याएको भए हुने थियो । यसमा पटक–पटक छलफल भएको छ । यसलाई लिङ्गरिङ गर्ने काम सह्य छैन । विधेयक मन्त्रिपरिषद्‌मा जाँदैन ।”

सोमबारको समिति बैठकले विधेयकलाई पास गरेको छ । समितिले मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा विधेयक पेस गर्ने निर्णय गरेको समिति सभापति जयन्तीदेवी राईले जानकारी दिइन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्