site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्री श्रेष्ठले भेट दिएनन् : रास्वपा उपसभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद अर्यालले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट नदिएको गुनासो गरेका छन् ।

रुकुम र जाजरकोटका सीडीओहरूले मन्त्री र सांसदहरूलाई मात्र स्वागत गर्नुपरेपछि भूकम्पपीडितलाई राहत वितरण गर्ने विषयमा समस्या देखिएको र त्यो समाधानका निम्ति सुझाव दिन गृहमन्त्रीलाई भेट्न खोज्दा नपाएको उनको गुनासो थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबार बसेको बैठकमा उनले मन्त्री र सांसदहरूलाई स्वागत गर्न दुई सहसचिव पठाएर भए पनि भूकम्पपीडितलाई राहत दिने काममा सीडीओहरूलाई लगाउन सरकारलाई सचेत गराए । उनले सरकार आमउपभोक्ताको हितका निम्ति जिम्मेवार नभएको आरोप लगाए ।

“रुकुम र जाजरकोटमा भूकम्प गयो । सीडीओ साहेबहरूचाहिँ संघीय माननीय र मन्त्रीहरू अनि प्रदेशमा माननीय र मन्त्रीहरू स्वागत र सत्कारमै व्यस्त भएर त्यहाँ जम्मा भएको राहत वितरणमा समस्या आयो भनेर गुनासो छ भने हामी कतातिर गइरहेका छौँ भन्ने कुराचाँहि त्यसले पनि देखायो,” अर्यालले भने, “मैले गृहमन्त्रीज्यूलाई भेटेरै तुरुन्तै तपाईंले यो काठमाडौंबाट दुईजना सहसचिवहरू पठाइदिनुस् स्वागत गर्नका लागि, त्यहाँ बसेर उहाँहरूले स्वागत गर्नुहुन्छ, तर सीडीओहरूलाई चाहिँ काम गर्न लगाउनुस् भन्न गएको । तर, उहाँले भेट्न समय नै दिनु भएन । अब ठिकै छ । भन्न गएको, भेट्न पाइएन । अब के गर्नु ?”

बैठकमा नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले सरकार जिम्मेवार नभएकाले मूल्यवृद्धि नियन्त्रण गर्न नसकिएको बताइन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद हेमराज राईले मुलुक कमिसनतन्त्र, घुसखोरी, कालोबजारीको, अराजकताको ठूलो भूमरीभित्र प्रवेश गरेको जस्तो अनुभूति आफूले गरेको बताए । सरकारले जिम्मेवारी बोध गरे मात्र उपभोक्ता मारमा पर्ने विद्यमान अवस्थाको अन्त्य गर्न सकिने उनले उल्लेख गरे ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्