site stats
बाह्रखरी :: Baahrakhari
देश
दुई बालिकासहित तीनजनाको उद्धार, स्पा सेन्टरका सञ्चालक पक्राउ

काठमाडौं । रोजगारीको नाममा काठमाडौंमै बालिका तथा युवतीहरू बेचविखन भएको घटना बाहिर आएको छ ।

काठमाडौं महानगरपालका–९, रातोपुलस्थित ‘नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टर’ मा काम गर्ने युवतीलाई रोजगारीको नाममा जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको पाइएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त सूचनाका आधारमा ब्युरोबाट खटिएको टोलीले नाबालिकासहित तीन युवतीलाई उद्धार गर्नुका साथै उक्त स्पाका सञ्चालक दिनेश पौडेललाई पक्राउ गरी अनुसन्धान थालेको ब्युरोले आज सार्वजनिक गरेको छ । उनीमाथि मानब बेचविखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ब्युरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताए ।

अनुसन्धानका क्रममा आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढे लेखेका युवतीलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा काम गर्न बोलाउने गरेको खुल्न आएको छ । पक्राउ प्रतिवादीले काठमाडौंको रातो पुल र एअरपोर्ट नजिकै दुई वटा स्पा सेन्टर खोलेको पाइएको तथा उक्त स्पामा काम गर्ने युवतीलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको पनि अनुसन्धानमा फेला परेको ब्युरोले जनाएको छ ।

स्पा सेन्टरमा काम गर्ने युवतीलाई मसाजका साथै शारीरिक सम्पर्क राख्न दबाब दिने गरेको तथा नमानेमा शारीरिक तथा मानसिक यातना समेत दिने गरेको खुलेको पंगेनीले बताए । पुरुषसँग अश्लील क्रियाकलाप गरेको फोटो, भिडियो आफूसँग सुरक्षित रहेको र भनेअनुसार नगरेमा/नमानेमा सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाइदिने भनी डर त्रासमा पार्ने गरेको पनि खुलेको प्रहरीले जनाएको छ ।   

उद्धार भएका युवतीमध्ये दुईजना नाबालिका रहेका छन् । युवतीलाई जबरजस्ती यौन व्यवसायमा लगाई निज स्पा सेन्टरका सञ्चालक पौडेलले आर्थिक लाभ लिने गरेको खुल्न आएको पनि प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  २२:३४
प्रतिक्रिया दिनुहोस्