site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसदको प्रश्नमा पोखरेलको जवाफ– न्यायाधीशलाई अग्लो र सग्लो रूपमा हेरिन्छ

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलले सोमबार संसदीय सुनुवाइ समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिएका छन् ।

उनले न्यायाधीशलाई विश्वभर अग्लो र सग्लो रूपमा हेरिने उल्लेख गरे । न्यायाधीशलाई अग्लो उसको फैसलाले र सग्लो आचरणले राख्ने उनले बताए ।

“संसारभर न्यायाधीशलाई अग्लो र सग्लो रूपमा हेरिन्छ । अग्लो उसले गर्ने फैसलाले र सग्लो उसको आचरणबाट हेर्छ संसारले,” पोखरेलले भने, “हाम्रो सोसाइटीमा न्यायलाई चित्त बुझाइबाट मापन गर्न सकिन्छ । हामीले अन्तरिम सरकारमा चिफ जस्टिस लानु राम्रो थिएन, त्यो संवैधानिक पनि थिएन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले मुद्दा दर्तादेखि नै ‘मूल्यवृद्धि’ भएको बताए । “हिजो सय रुपैयाँमा मुद्दा दर्ता हुन्थ्यो भने अहिले पाँच सय पुग्यो मानिलिऊँ, यो किन ?,” प्रतिप्रश्न गर्दै उनले भने, “अदालत भन्सार कार्यालय हैन ।”

उनले न्याय महँगो हुनुको अर्को कारण कानुन व्यवसायीलाई करको दायरामा लगिएपछि त्यो रकम पनि सेवाग्राहीबाटै असुल गर्नु भएको सुनाए । न्याय ढिला हुँदा पनि खर्च धेरै हुने गरेको उनले स्पष्ट पारे ।

“पैसाको करणले हैन, समयको कारणले कष्ट बढेको छ । थुनुवाको मुद्दामा सुनिश्चित गर्नु छ, किनभने मैले गर्दा त्यो मान्छे थप एक महिना थुनामा बस्नु नपरोस्,” पोखरेलले भने, “मैले अवसर पाएँ भने मेरो हातबाट अन्याय हुँदैन ।”

उनले न्यायिक प्रणालीका कारण पनि कार्यसम्पादन केही ढिला भएको जिकिर गरे । “डिले हुने फ्याक्टरमा – यो कमन ल सिस्टम हो । मानिलिऊँ एक मान्छे थुनामा छ, तीन फरार छ भने हामी फरारको पछि लाग्छौँ । त्यो एकजना थुनामै रहन्छ । न्याचुरल जस्टिस भएन,” उनले भने, “अर्को, अदालतको संरचना नै यस्तो बनायौँ – कुनै न कुनै बहानामा मुद्दा अदालतमै पुग्छ, अनि कसरी सकिन्छ ?”

उनले फौजदारी मुद्दामा कम सफलता हासिल हुनुमा अनुसन्धान प्रणालीमै समस्या रहेको जिकिर गरे । “सिस्टमलाई रिफर्म गर्नु छ, रिफाइन गरेर मुद्दा पठाउनुपर्छ,” उनले भने, “संस्थाहरूले राम्ररी काम गर्ने भए यो समस्या आउँदैन ।”

उनले मुद्दा बढ्नुलाई सकारात्मक रूपमा हेर्नुपर्नेमा जोड दिए । “अदालतमा हामीकहाँ प्रवेशमा समस्या र प्रवेशपछि पनि प्रक्रियामा समस्या छ,” पोखरेलले थपे, “मुद्दा बढ्नु नकारात्मक कुरा हैन, सकारात्मक हो । किनभने, न्याय खोज्न मानिस अरूतिर जाँदैनन् ।”

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्