site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
...अनि फ्लोरबाट प्रश्न आयो– माओवादीलाई भोट नदिए शेरबहादुरले निष्कासन गर्ने रहेछन्

काठमाडौं । “किसुनजीसँग जीवन बिताएका हाम्रा साथीहरूमा किसुनजीसँग भएका आदर्श कति प्रतिशत छ ? त्यसको मूल्यांकन गर्ने कि नगर्ने ?”

उमेरमा पाका हुतराज बस्नेतले फ्लोरबाट यो प्रश्न उठाउँदा हलमा ताली बज्यो । सोलुखुम्बुका स्थायीबासी बस्नेत नेपाली कांग्रेसको महासमिति सदस्य हुन् ।

उनले यो प्रश्न आइतबार कांग्रेस पार्टी कार्यालयमा उठाएका हुन् । कांग्रेसका पूर्व सभापति तथा स्व. नेता कृष्णप्रसाद भट्टराईंको शताब्दी जन्म दिवसको अवसरमा आयोजित ‘आदर्शको राजनीति, विधिको शासन र किसुनजीको योगदान’ विषयक कार्यक्रममा बस्नेतको असन्तुष्टि पार्टी सभापति शेरबहादुर देउवामाथि देखियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बस्नेतले कांग्रेस भएकै कारण माओवादीले दिएको पीडा मात्र बस्नेतले सम्झिएनन् कि गएको निर्वाचनमा माओवादीलाई भोट हाल्नुपर्दाको पीडा पनि सुनाए । आफूले माओवादीलाई भोट नहाल्दा कारबाही गर्न तम्सिएका शेरबहादुर देउवाको चरित्रमाथि पनि प्रश्न उठाए । 

“जीवनभरि कांग्रेसको आदर्श भएर बसियो, कांग्रेस भएकै कारण माओवादीले गौंडा ढुकेर मार्न खोजे, घर सबै लुटे शेरबहादुरजीको पालामा आएर माओवादीलाई भोट नदिए कारवाही गर्ने भनियो, के विचित्रको व्यवहार हो ?,” बस्नेतले थपे ।

हुतराजले विगतलाई सम्झिँदै भने, “माओवादीलाई भोट दिएन भने त निस्कासन हुँदो रहेछ । ३१ सालको काण्डमा म मात्र होइन मेरो बुबासमेत जेल जानुभयो । जिन्दगीभर मैले कांग्रेस छाडेको छैन, तर यसपटक मेरै क्षेत्रमा माओवादीलाई भोट नदिँदा मलाई कारवाही गर्छु भनिएको छ ।”

पार्टीले किसुनजीको शताब्दी जन्म दिवसको अवसरमा प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको थियो । साहित्यकार तथा पत्रकार डा. नवराज लम्साल सहजकर्ता भएको कार्यक्रममा वक्ता थिए– स्व. नेता भट्टराईको सरकारमा मन्त्री बनेका नीलाम्बर आचार्य र राजनीतिक विश्लेषक सिके लाल ।  

बस्नेतको प्रश्न दुई वक्तालाई थिएन । उनले पार्टी सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र अन्य पदाधिकारीबाट जवाफ खोजेका थिए । तर, उनको प्रश्नको जवाफ दिने ‘ल्याकत’ नेतृत्वमा थिएन । यसै पनि देउवाले कार्यक्रम धैर्य भएर सुन्ने कुरै भएन । देउवाले त प्यानल डिस्कसन सुरू हुनु अगावै बोलेर हिँडेका थिए । 

किसुनजीसँग जेलमा संगत गरेको सुनाएका देउवाले प्रजातान्त्रिक दल कांग्रेस बन्ने भए स्व. नेता भट्टराईको पथमा हिँड्नुपर्ने धारणा राखे । साथै पार्टीले किसुनजीकाबारे पुस्तक निकाल्ने जानकारी दिँदै किसुनजी बेदाग त्यागी नेता बताए । तर, आफूले पार्टीमा आफूले कार्यकारी प्रमुखको भूमिकामा रहेर ‘बिर्सिएको बाटो’ को विषयमा उनले सम्झिनै चाहेनन् ।

प्यानलिस्टको नजर : किसुनजीहरू फर्केर आउँदैनन्, यही नेतृत्वमा खोज्नुस् 

कार्यक्रममा प्यानललिस्ट रहेका सिके लालले प्रजातन्त्रमा विश्वास राख्ने आफूजस्ता बाहिरी मान्छेले राजनीतिमा ‘लाभ–हानि’ को हिसाबमा मात्र देख्न थालेको बताए । उनले सिद्धान्त र ज्ञान हराएको भन्दै राजनीतिक आर्दश भन्दा पनि क्षणिकतामा रमाउने क्रम बढेको जिकिर गरे ।

“तीव्र गतिमा चल्ने जीवन भयो । कसैलाई पनि गहिराई जाने र सोच्ने फुर्सद छैन । सबै दौडमा छन्, कहाँ पुग्ने हो थाहा छ, तर, बाटो सही गलत के हो थाहा छैन ? साथीहरुलाई लिने कि नलिने भन्ने पनि देखिँदैन । सबै छुट्दै जान थालेका छन्,” उनले भने । 

भट्टराई क्याबिनेटको सरकारमा मन्त्री रहेका नीलाम्बर आचार्यले समय बदलियो भन्दैमा विधिको शासनको विपक्षमा जाने हो भन्ने प्रश्न गरे ।

“समय बदलियो भ्रष्टाचार गर्ने छूट हुन्छ ? जे अपराध गरे पनि टाठाबाठालाई कानुनमाथि राख्ने छुट हुन्छ ? सरकारी जग्गा जमिन बाडँफाँड खाने छुट हुन्छ ? नक्कली भुटानी बनाउँदा छूट हुन्छ ?,” आचार्यले प्रश्नैप्रश्न तेर्स्याए ।

सहजकर्ता डा. लम्सालले पछिल्लो समय जनतामा निराशा बढेको भन्दै प्रतिप्रश्न गरे गरे–‘व्यक्तिमाथि आक्रोश कि व्यवस्थामाथि ?’ 

जवाफमा आचार्यले आक्रोश नभएर आलोचना मात्र भएको उल्लेख गर्दै भने, “गल्ती सिस्टमको हैन । सञ्चालन राम्रो भएन । ड्राइभर ठीक भएन । एउटा ऐतिहासिककालमा सक्षम भएको नेतृत्व व्यवहार अर्कोमा सक्षम हुन सक्दैन ।”

डा. लम्सालको त्यही आशयको प्रश्नमा विश्लेषक सिके लालले समस्या आस्थामा देखिएको उल्लेख गरे । उनले राज्यसञ्चालक एकात्मक र केन्द्रीकृत मानसिकताबाट हाबी भएको भन्दै संविधानमा यो कसरी सम्भव हुन्छ भन्दै प्रश्न गरे ।

“अलि असल डाइभर भएको भए, संस्थाको आकार नियन्त्रणबाट छुट्याएर प्रादेशिक र स्थानीय संरचनालाई अधिकार दिनुपर्यो । संविधानले त्यो अधिकार दिएको छ,” उनले थपे । 

लालले थपे ‘‘आस्था सुधार गर्ने भए प्रजातान्त्रिक रहँदैन । दुर्भाग्यबश, यो विचार राख्ने हुनुहुँदो रहेछ । नयाँ परिवेश अनुसार ढाल्नुपर्छ ।’

कार्यक्रममा कांग्रेसले बीपी, गणेशमान, किसुनजी पथ छाडेकामा पनि प्रश्न उठ्यो । साथै वक्ताहरूले कांग्रेसमा अब विपी, गणेशमान, गिरिजाप्रसाद आउनेवाला छैनन्, अब भएकै नेताबाट असल नेतृत्व छनोटमा ध्यान दिन कार्यकर्तालाई अनुरोध गरे ।

“जे छ त्यसैबाट कति लिने भन्ने हो भने प्रश्न सोध्ने हो । प्रश्नको वर्षा भइरहको छ । अझ सघन हुनुपर्छ । कार्यकर्ता लोभी हुने अनि नेता मात्र सही हुने भन्ने विरोधभास पाखण्ड त्यही हो । नेतृत्वले एउटा गुण देखाउन सक्नुपर्छ,” लालको भनाई थियो ।

कार्यक्रमको सञ्चालनकै दौरान डा. लम्सालले भने, “कांग्रेसको नेताको नाममा संस्था छ । त्यो संस्था विशेषमा पैसा आउँछ । तर, किसुनजीको नाममा संस्था छैन, मरेपछि उहाँ सादगी हुनुहुन्छ, राज्यले बजेट खाएको छैन ।”
 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्