site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्‌मा विचाराधीन विधेयक सरकारले बीचमै ‘अपहरण’ गर्न मिल्दैन : कानुनमन्त्री गुरुङ
फाइल तस्बिर।

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद्‌मा विचाराधीन विधेयक सरकारले बीचैमा अपहरण गर्न नमिल्ने बताएका छन् । 

मन्त्री गुरुङले संसद् र संसदीय समितिमा विचाराधीन विधेयक त्यहाँको सम्पत्ति भएकाले त्यसलाई सरकारले बीचैमा अपहरण गरेर त्यहाँ राखिएको प्रावधान थपघट गर्न नमिल्नेतर्फ सांसदहरूको ध्यानाकर्षण गराए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोमबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल गरिएको थियो ।

सोही छलफलमा सांसदहरूले सो विधेयक सामसामयिक नभएको भन्दै मन्त्री गुरुङको आलोचना गरेका थिए । त्यसको जवाफ दिनेक्रममा मन्त्री गुरुङले संसद्को सम्पत्तिको रूपमा रहेका विधेयकलाई कानुनमन्त्रीले मनलाग्दी गर्न नमिल्ने बताए । उनले आफूले पनि सो विधेयक पढेकाले हरिलट्ठकको रूपमा चित्रण गर्ने प्रयास नगर्न पनि सांसदहरूलाई आग्रह गरेका थिए । 

मन्त्री गुरुङले भने, "समितिमा विचाराधीन रहेका विधेयक बीचैमा अपहरण गर्न मिल्दैन । यसको दफावार छलफल त हुनैपर्‍यो नि । किनभने यो यहाँको सम्पत्ति हो । अहिलेलाई यो सरकारको सम्पत्तिको रूपमा रहेन । त्यसपछि समितिले अन्तिम अवस्थामा निर्णय गर्ने बेलामा पुग्दाखेरी सरकारले कति संशोधनहरू स्वीकार गर्ने, नगर्ने भन्नेकुरा त्यतिखेर भन्ने कुरा हो । त्यतिखेर पाइन्छ । त्यसैले त्यतिखेर चाहीँ अब संविधानमा बाँझिने गरेर आए वा कुनै भर्खरै भएको फैसलासँग त्यतिखेरै किन नमिलाएको ? भन्ने सन्दर्भ रहेन ।" 

मन्त्री गुरुङले संसद्‌ले विधेयकलाई अन्तिम रुप दिने बेलामा सरकारले सांसदहरूले उठाएका विषयलाई सम्बोधन गरेरै अघि बढ्ने प्रतिबद्धता समेत गरे ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्