site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘यू–१९ क्रिकेटमा टेस्ट र एसोसिएट दुवै राष्ट्र उस्तै हुन्छन्’

काठमाडौं । नेपाली युवा क्रिकेट टिमका कप्तान देव खनालले यू–१९ स्तरमा टेस्ट र एसोसिएट दुवै राष्ट्रको स्तर उस्तै हुने बताएका छन् ।

दक्षिण अफ्रिकामा जनवरी तेस्रो सातादेखि सुरु हुने आईसीसी यू–१९ विश्वकप खेल्न जाने टिमको बिदाई कार्यक्रममा कप्तान देवले यस्तो प्रतिक्रिया दिएका हुन् । नेपाली टिमलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायत अन्य पदाधिकारीहरूले बिदाइ गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सबैजनाले मेहेनत गरेर सात वर्षपछि विश्वकप पुगेका छौँ । मुख्य लक्ष्य सुपर आठ र टेस्ट राष्ट्रलाई कसरी हराउने भन्ने छ । सबैजना राम्रो माइन्टसेटमा हुनुहुन्छ,” कप्तान देवले भने, “राम्रो नतिजाको आशा छ । यू–१९ मा टेस्ट राष्ट्र र अरु राष्ट्र उस्तै हुन्छन् । बोर्डमा अलि धेरै रन भयो भने आत्तिने हुन्छ । हाम्रो टिम सन्तुलित छ । एसिया कपबाट धेरै सिक्ने मौका पायौं ।”

जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यस समूहमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन् । 

नेपालले २१ जनवरीमा न्युजिल्यान्डविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्ने छ । यस्तै, नेपालले समूहको दोस्रो खेलमा २४ जनवरीमा पाकिस्तानविरुद्ध र अन्तिम खेलमा २७ जनवरीमा अफगानिस्तानविरुद्ध खेल्ने छ । 

विश्वकपअघि नेपाली युवा टिम दक्षिण अफ्रिकामा जनवरी ५ देखि १२ सम्म ‘हाई पफर्मेन्स क्याम्प’ मा बस्ने छ । नेपाली युवा टिमले यसअघि पछिल्लो पटक सन् २०१६ को यू–१९ क्रिकेट विश्वकप खेलेको थियो ।

नेपाली टिम : 
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सन झा, दिपेश कँडेल, विशाल विक्रम केसी, सुवाश भण्डारी, दीपक दोहरा, दिपक बोहरा, उत्तम थापा मगर, विपीन रावल तिलकराज भण्डारी, आकाश चन्द

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्