site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गणतन्त्रमाथिको हमला हामीमाथिको हो : वर्षमान पुन 

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का उप–महासचिव वर्षमान पुनले निरंकुश राजतन्त्रवादीहरूले व्यवस्थामाथि हमला सुरु गरेको र त्यो हमला आफूहरूमाथिको हमला भएको बताएका छन् । 

पार्टीद्वारा सञ्चालित ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ अन्तर्गत वाग्मती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको समीक्षा बैठक तथा अभियान समापन कार्यक्रमलाई सोमबार राजधानीमा सम्बोधन गर्दै पुनले परिवर्तनको नेतृत्वकर्ता शक्तिका हैसियतले निरंकुशतावादीहरूको चुनौती स्वीकार गर्न तयार रहेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्न आफ्नो दल प्रतिबद्ध रहेको पुनको भनाइ थियो । उनले आफूहरूले कोसिस गर्दा गर्दै असफल भए पनि अर्को क्रान्तिकारी शक्तिको जन्म भएर परिवर्तनको रक्षा गर्ने उल्लेख गरे  । 

"गणतन्त्रसहित उपलब्धीहरुमाथि निरंकुशतावादीहरुका तर्फबाट प्रश्न उठाउन थालिएको छ", पुनले भने, "यो व्यवस्थामाथिको मात्र प्रश्न होइन, हामी माओवादीमाथिको पनि प्रश्न हो ।" 

पूर्वअर्थमन्त्री समेत रहेका पुनले जनताको अवस्था बदल्न निरन्तर प्रयास गर्दै समाजवादी विकल्प तयार पार्नु आफूहरूको राजनीतिक द्येय भएको बताए । पुनले जनता र कार्यकर्ता तहबाट उठेका प्रश्न र असन्तुष्टिको सम्मान गर्दै सबै प्रश्नको जवाफ आफूहरुले दिने पनि बताए । 

पुनले नेतृत्वले आफ्नो वर्गीय धरातल छाडेको आरोप लाग्ने गरेको चर्चा गर्दै माओवादी सर्वहारा वर्ग, मजदुर, किसान, श्रमिक र देशभक्तहरुको पार्टी भएको दाबी गरे । उनले आसन्न विधान सम्मेलनबाट कार्यकर्ता जनताबाट र नेता कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने प्रणाली विकास गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्