site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजामा बन्धक बनाइएकाका आफन्त जबर्जस्ती इजरायली संसद्‌मा छिरे

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा गाजामा बन्धक बनाइएका केही इजरायलीका आफन्त जबर्जस्ती इजरायली संसद् नेसेटमा प्रवेश गरेका छन् ।

आर्थिक गतिविधिमाथि छलफल चलिरहेका बेला प्लेकार्डसहित उनीहरू संसद्भित्र प्रवेश गरेका थिए । उनीहरू सुरक्षा व्यवस्था तोडेर संसद्‌मा छिरेको जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जबर्जस्ती संसद् भवनमा प्रवेश गरेका एकजनाले बोकेको प्लेकार्डमा लेखिएको थियो, “हाम्रा छोराछोरी मरिरहेका बेला तपाईंहरू यहाँ बस्न पाउनु हुन्न ।”

सन् २०२३ अक्टोबर ७ मा हमासले अचानक इजरायलमाथि आक्रमण गरेको थियो । त्यति बेलै हमासले करिब साढे २०० मानिसलाई बन्धक बनाएर गाजातर्फ लगिएको थियो ।

बन्धक बनाइएका १३० व्यक्ति अझै पनि हमासको कब्जामा छन् । केही साताअघि अस्थायी युद्धविराम हुँदा हमासले १०० बन्धकलाई छाडेको थियो । हमास र इजरायलबीच पुनः युद्धविराम गराउन अमेरिका, कतार र इजिप्टले सकिरहेका छैनन् ।

इजरायलले हमासलाई पूर्ण रूपमा ध्वस्त नगरेसम्म युद्ध नरोक्ने उद्घोष गरेको छ । हमासले पनि इजरायली जेलमा रहेका सबै प्यालेस्टाइनीलाई नछाडेसम्म युद्धविराम नगर्ने जनाएको छ । इजरायलको जेलमा हमासका कैयौँ नेता छन् । बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्