site stats
बाह्रखरी :: Baahrakhari
देश
सरकारले २०८१–९१ को दशकलाई आन्तरिक रोजगार प्रवर्द्धनका रूपमा अघि बढाउने
फाइल तस्बिर ।

काठमाडौं । सरकारले २०८१–०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको रूपमा अघि बढाउने भएको छ । 

बिहीबार काठमाडौंमा नबिल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यस्तो बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले सरकारले वैदेशिक रोजगारीको विकल्प भनेको आन्तरिक रोजगारी भएकाले सरकारले २०८१ देखि २०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियानको रूपमा अघि बढाउन गृहकार्य गरिरहेको बताए । 

मुलुकको अर्थतन्त्र विस्तारै लयमा गइरहेको उनले बताए । अर्थतन्त्रको अवस्था सबल नभएकाले बेरोजगारी, गरिबी लगायतका समस्या समाधान गर्न नसकेको जिकिर गरे । उनले दैनिक विदेश पलायन भएका युवाहरूसँगै स्वदेश फर्किरहेका युवाहरूको बारेमा पनि तथ्यांक सार्वजनिक गर्न आवश्यक रहेको बताए । 

उनले भने, “हाम्रो अर्थतन्त्र सुधारोन्मुख छ । किनभने हाम्रो सञ्चिति बढ्दै गइरहेको छ । तर, हामीले ज्यादै ठूलो चिन्ता पनि व्यक्त गरिरहेका छौँ की हाम्रा सबै युवाहरू बाहिर गइरहेका छन् भनेर । मानौँ मुलुक नै खाली भइसक्यो भन्ने खालको मानसिकताका पनि छौँ । यो बाध्यात्मक अवस्था हो भन्नेकुरा सबैले महशुस गरिरहेका छौँ । अहिले मुलुकको आर्थिक अवस्था केही न केही सुधार भइरहेको छ । तर जे अवस्था छ, त्यसले गर्दा रोजगारी सिर्जना गर्ने अवस्था भइरहेको छैन । बेरोजगारी, गरिबी लगायतका कुराले गर्दा मानिस बाहिर जानुपर्ने बाध्यता छ । हामी कुनै हालतमा युवाहरुलाई बाहिर जान दिनु हुँदैन पनि भनिरहेका छौँ । केही गरिरहेका पनि छैनौँ ।” 

मन्त्री भण्डारीले श्रम मन्त्रालयअन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७५३ पालिकामा पुर्‍याउन र वैदेशिक रोजगारीमा गएकाहरूको सम्पूर्ण विवरण राख्ने काममा रोजगार सेवा केन्द्र स्थापना गरी काम भइरहेको बताए । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्