site stats
बाह्रखरी :: Baahrakhari
कला
सकियो ‘भूठान’को छायांकन, चलचित्र विश्व बजारमा जाने निर्देशक पौडेलको विश्वास 

काठमाडौं । चलचित्र ‘भूठान’को छायांकन सकिएको छ । नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वल्र्ड ह्यापियस्ट म्यान’ नाम दिइएको  निर्देशक विनोद पौडेल निर्देशित पहिलो हलिउड–नेपाली चलचित्रको सम्पूर्ण छायांकन  सकिएको हो । 

यसमा नेपालबाट हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द लामा, रीचा घिमिरे, भुवन प्याकुरेल, अदिति प्याकुरेल, कौशिला खनाल कर्मचार्य तथा भारतबाट अनुराधा मजुमदार र अमेरिकाबाट हलिउड स्टार ब्रुश डनलगायत कलाकारको अभिनय छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जोयश पाण्डे र विमल सुवेदी पनि यस चलचित्रमा अभिनेताका रूपमा देखिनेछन् ।
 
‘भूठान’ हलिउडको अन्तर्राष्ट्रिय मान्यता र मापदण्डमा रहेर बनाइएको निर्देशक पौडेलले बताएका छन् । “यो नेपालका लागि पहिलो  यूनियन (स्याग) चलचित्र हुनेछ । यसमा ब्रुश डन मात्र नभएर हलिउडकै प्रख्यात प्राविधिक पनि जोडिएकाले चलचित्रको प्रविधिक पक्ष सबल रहेको छ,” लेखकसमेत रहेका निर्देशक पौडेलले भने, “कथा पनि विश्वले आत्मसात गर्ने भएकाले यो चलचित्रमार्फत हामी विश्व बजारमा आफ्नो पहुँच बनाउने कुरामा विश्वस्त  छौँ ।” 

म्याड मंकी फिल्मस्ले निर्माण गरेको यस चलचित्रमा, हलिउडकै भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सनले सहकार्य गरेका छन् । 

कार्यकारी निर्माताहरू कौशिला खनाल कर्मचार्य, एल.एन अधिकारी, अपार श्रेष्ठ, रमेश भट्ट छन् भने निर्माताहरुमा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा छन् । 

‘भूठान’ सन् २०२४ को अन्त्यसम्म दर्शकसामु ल्याउने र विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजना रहेकोे निर्माण पक्षले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्