site stats
बाह्रखरी :: Baahrakhari
कला
दर्शक भेट्न ‘महाजात्रा’ टोली पोखरामा 

काठमाडौं । ‘महाजात्रा’ निर्माण समूह दर्शक भेट्न आजबाट मोफसल यात्रामा निस्किएको छ । ‘महाकमेडी यात्रा’ अन्तर्गत चलचित्रका निर्माता म्याक्स दीपेश खत्री, निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, रवीन्द्र सिंह बानियाँ, अभिनेत्री वर्षा राउतलगायतको टोली पोखरा पुगेको छ । 

पहिलो चरणअन्तर्गत ‘महाकमेडी यात्रा’ आजबाट सुरु भई २२ गते बुटवल, २५ गते धनगढीमा हुनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दोस्रो चरण फागुन ३० गते विर्तामोडबाट सुरू भएर १ गते इटहरी, ३ गते हेटौंडा र ४ गते नारायणगढमा हुनेछ । भ्रमणमा चलचित्रको युनिटसँगै अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गरेका विभिन्न प्रस्तुतिमार्फत् रोड शोमा दर्शकलाई मनोरञ्जन दिनेछन् ।

निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि तयार भएको तेस्रो श्रृङ्खला ‘महाजात्रा’ हो । ‘जात्रा’ श्रृङ्खलाकै कलाकारहरू विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएका छन् । 

पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै यो चलचित्रको मुख्य कथा हो । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हासो र रोदनको मिश्रण छ । फिल्म चैत ९ गते नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुँदै छ ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्