site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अस्ट्रेलियामा विमानमा समस्या आउँदा बिरामी परेका १२ यात्री अस्पताल भर्ना
तस्बिर : रोयटर्स ।

विलिङटन । सिड्नीबाट अकल्यान्डका निम्ति उडेको लाटामको विमानमा प्राविधिक समस्या आएपछि एक्कासि कम्पन हुँदा बिरामी परेका १२ यात्रीलाई सोमबार अस्पतालमा भर्ना गरिएको विमान कम्पनी र सुरक्षाकर्मीले एएफपीलाई जानकारी दिएका छन् ।

तस्मान सागरमा एलए ८०० विमानमा समस्या आएका कारण त्यसमा कम्पन हुँदा कम्तीमा एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ । यात्रीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार, विमानको उचाइ एक्कासि गुमेको र सिटबेल्ट नभएकाहरू सिटमा उफ्रेका थिए ।

प्रत्यक्षदर्शी यात्रीले रेडियो नेटवर्क आरएनजेडसँग भने, “सिटबेल्ट नलगाएका कारण मानिस सिटमा उफ्रिएका थिए ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आवाज थरथर काँपिरहेको अवस्थामा उनले भने, “केही मानिस गम्भीर घाइते भएका छन् । यात्री साँच्चै डराएका थिए ।”

चिलीस्थित एयरलाइन्सका प्रवक्ताले उडानका क्रममा भएको प्राविधिक घटनाका कारण विमानमा ‘ठूलो हलचल’ भएको बताएका छन् । “विमान अकल्यान्ड विमानस्थलमा निर्धारित समयमा अवतरण गरेको थियो,” उनले भने ।

घटनाको कारण खुल्न सकेको छैन ।

सेन्ट जोन न्युजिल्यान्ड एम्बुलेन्स सेवाका जेरार्ड क्याम्पबेलले विमान न्युजिल्यान्डको अकल्यान्ड सहरमा ओर्लिएपछि चिकित्सकलाई समस्याबारे जानकारी गराइएको बताए ।

घाइतेको उपचारका निम्ति एक दर्जनभन्दा बढी एम्बुलेन्स र अरू मेडिकल गाडीको टोली विमानस्थलमा पुगेको थियो ।

क्याम्पबेलले भने, “हाम्रो एम्बुलेन्स चालक दलले लगभग ५० बिरामीको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो, जसमा एक बिरामी गम्भीर अवस्थामा थिए र बाँकी मध्यमदेखि सामान्य अवस्थामा थिए ।”

बिरामी सबैजनालाई अस्पताल पुर्‍याइएको उनले बताए ।

लाटामका अनुसार, बोइङ ७८७ ड्रिमलाइनर विमानमा उडानका क्रममा समस्या आएको हो ।

अमेरिकी विमान निर्माता कम्पनी बोइङले हालैका वर्षहरूमा घातक लायन एयर र इथियोपियन एयरलाइन्सका ७३७ म्याक्स विमानहरू दुर्घटनाग्रस्त भएकालगायत सुरक्षा समस्याको शृंखलाको सामना गर्नुपरेको छ ।

एयरलाइन्सले भनेको छ, “यस परिस्थितिले निम्त्याएको असुविधाप्रति लाटाम गहिरो खेद प्रकट गर्दछ ।” रासस/एएफपी

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्