site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्रीलाई प्रश्न– दशौँ अर्बको ठगी गर्नेलाई उम्काउने प्रपञ्चको हतियार त बनिरहनुभएको छैन ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलक्षित गरेर ‘दशौँ अर्बको ठगी गर्ने ‘ठूला माछा’ उम्काउने प्रपञ्चको हतियार बनेको ?’ भन्दै प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले गृहमन्त्रीको पदलाई रक्षाकवच बनाई अर्बौँ ठगी गर्नेलाई उम्काउने प्रपञ्चको हतियार बनाइएको आरोप लगाएका हुन् ।

उनले गृहमन्त्री लामिछानेलाई ‘तपाईंजस्तै आरोप लागेको व्यक्तिलाई कसरी कारबाहीको दायरामा ल्याउनुहुन्छ ?’ भनी प्रश्न गरे । “सहकारीको आदर्शविपरीत गर्न नहुने सस्थामा लगानी, दिन नहुने शीर्षकमा कर्जा, सेयर सदस्य नै भएका व्यक्ति, पाउनै नपर्ने व्यक्तिले पाउनै नपर्ने ऋण प्रवाहको सघन आरोपबाट घेरिएका गहृमन्त्रीले यस्तै प्रकारका अन्य व्यक्तिलाई कसरी कानुनी कारबाहीको दायरामा ल्याउनुहुन्छ ?,” सांसद पाण्डेले प्रश्न गरे, “कतै तपाईंको पोजिसनलाई रक्षाकवच बनाएर एक/दुई करोड अभियोग लागेका तपाईंलाई शिखण्डीको भूमिकामा अघि सारेर दशौँ अर्बको ठगी गर्ने ठूला माछाहरू उम्काउने प्रपञ्चको जानी नजानी तपाईं हतियार त बनिरहनुभएको छैन ?”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले सहकारी क्षेत्र उठ्नै नसक्ने गरी थला पर्नु सामान्य विषय नभएको बताए । आफ्नो पेट काटेर थोरैथोरै बचत गरेका न्यून आय भएका करिब पौने करोड सेयर सदस्यको पसिनाको कमाइ केही ‘ठग’हरूले कुम्ल्याउँदाको परिणाम देशैभर अविश्वास, असुरक्षा र आक्रोश चुलिएको उनको भनाइ छ ।

“आजै र अहिलै देशभरिबाट आएको सहकारीपीडितहरूको प्रदर्शन काठमाडौंमा प्रारम्भ भइरहेको छ । आफ्नो बचतको सावाँब्याज फिर्ता नपाउने हो भने जस्तोसुकै मूल्य चुकाउन बाध्य भइरहेको उहाँहरू बताइरहनुभएको छ,” उनले भने ।

विषम परिस्थितिमा अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई गृहमन्त्रीको ‘कमान्ड’ सुम्पिनुले गम्भीर नैतिक प्रश्न खडा भएको उनले बताए । अनुसन्धान प्रक्रिया नै प्रभावित हुने आंशका बढेको उनले उल्लेख गरे ।

“विषम परिस्थितिमा अनुसन्धानको कमान्ड सम्हाल्नुपर्ने कमान्डर गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ, अर्काेतिर अनुसन्धान नै प्रभावित हुने आशंका बढाएको छ,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्