site stats
बाह्रखरी :: Baahrakhari
देश
दुई हजार ३८० खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा दुई हजार ३८० खानेपानी आयोजना निर्माण गरेको बताएको छ । 

ट्रष्टको बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुंग तातोपानीमा सम्पन्न कार्यशालामा ६१ हजारभन्दा बढी धारा जडान गरेर खानेपानी वितरण गरिएको ट्रष्टका कार्यक्रम निर्देशक दीपककुमार श्रेष्ठले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालको कुल जनसंख्यामध्ये ग्रामीण भेगमा बसोबास गर्दै आएका तीन प्रतिशत जनसंख्यामा ट्रष्टको आर्थिक सहयोगमा खानेपानीको पहुँच पुगेको दाबी गरे । “एकाउन्न जिल्लामा २ हजार ३८० वटा खानेपानी योजना निर्माण भएका छन्,” उनले भने, “६१ हजार ६३४ धारा र ४३१ वटा विद्यालयमा शौचालय निर्माण गरिएको छ ।”

ट्रष्टले सन् १९७६ देखि नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ आयोजना निर्माण गर्दै आएको छ ।  

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर –६ खिबाङ –४ को पटार, छेम्दी –३ को दाना बजार, दुवाडी र काभ्रेमा निर्माण भएको खानेपानी योजनाबाट एक हजार ९०० जनसंख्या लाभान्वित भएका ट्रष्टका इन्जिनियर लीला शेरचनले जानकारी दिइन् । उनका अनुसार ती योजनाहरुमा करिब रु दुई करोड ४१ लाख खर्च भएको छ । साथै आगामी आर्थिक वर्षमा वडा नम्बर –४ नारच्याङको बेसी र लेखगाउँमा सञ्चालन गरिने योजनाका लागि एक करोड १५ लाख ट्रष्टले खर्च गर्ने उनको भनाइ छ । 

दुई दिनसम्म सञ्चालन भएको ‘उत्थानशील खानेपानी, सरसफाइ तथा विपद् तयारी कार्यक्रम’को सिकाई तथा अनुभव आदानप्रदान कार्यशालामा कोसी प्रदेशको ताप्लेजुङदेखि कर्णाली प्रदेशको हुम्ला जिल्लासम्मका १६ वटा जिल्लाका १६ स्थानीय तहका प्रमुख, प्राविधिक र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

ट्रष्टले हाल १४ जिल्लाका चार नगरपालिका र १० वटा गाउँपालिकामा उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यशालामा खानेपानी योजना सञ्चालित १४ जिल्लाका १४ पालिका र विश्व खाद्य कार्यक्रमको स्थानीय सहयोग पूर्वाधार कार्यक्रम सञ्चालित जाजरकोटको बारेकोट गाउँपालिका र हुम्लाको ताजकोट गाउँपालिकाका प्रतिनिधिको सहभागिता थियो । रासस

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्