site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'सहकारी ठग' रवि लामिछानेलाई खोज्न संसदीय छानबिन आवश्यक : गगन थापा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई खोज्न संसदीय छानबिन आवश्यक रहेको बताएका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगीबारे प्रहरीले गरेको अनुसन्धानअनुसार सरकारी वकिलले मुद्दा अभियोजन गर्दा सहकारी ठगी गर्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हो कि होइन भनेर प्रतिवादी नबनाएकाले त्यसले संसदीय छानबिनको आवश्यक थप बढेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सरकारी वकिललाई प्रतिवेदन बुझाएको प्रहरीले सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने कुरा थाहा नभएकाले मैले प्रतिवादी बनाएर प्रतिवेदन दिन सकिनँ भन्यो,” थापाले मंगलबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा भने, “सहकारी ठग्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने कुरा छुट्याउन सकिनँ भनेर प्रहरीले भनिसकेपछि त्यो खोज्नुपर्‍यो कि परेन ? त्यो हामीले नखोजे कसले खोज्छ त ?”

उनले रवि लामिछानेको ठाउँमा कांग्रेसको मान्छे, एमालेको, माओवादीको वा अरू कुनै मान्छे भएको भए पनि यही गर्नुपर्ने बताए ।

“पुराना दलको जो भए पनि यही गर्नुपर्थ्यो भने नयाँ दलको मान्छेलाई गर्नुपर्दैन ? यहाँ पुरानो वा नयाँ भन्ने हुन्छ ? कांग्रेसी एमाले वा माओवादी भन्ने कुरा हुन्छ ? सत्तापक्ष वा प्रतिपक्ष भन्ने कुरा हुन्छ ?,” प्रश्न गर्दै थापाले भने, “भ्रष्टाचारको सन्दर्भमा हामी गम्भीर छौँ । हामी आफ्नो पार्टीको, अर्को पार्टीको भन्दैनौँ, कानुनको शासनको सन्दर्भमा हामी प्रस्ट छौँ, कानुनभन्दा माथि कोही पनि हुँदैन ।”

उनले जनतामा लोकप्रिय छु भनेर वा सरकारमा शक्तिशाली छु भनेर कानुन भन्दा माथि नहुने बताए ।

“म जनतामा लोकप्रिय छु भनेर कोही कानुनमाथि हुँदैन, सरकारमा शक्तिशाली छु भनेर कोही कानुनमाथि हुँदैन, मसँग पारिवारिक विरासत छ भनेर कोही कानुनमाथि हुँदैन । कोही पनि कानुनमाथि हुँदैन भन्ने सत्यलाई हामीले स्थापित गर्नुछ,” थापाले भने ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्