site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हामी प्रधानमन्त्री बन्छौँ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिलाई सही दिशामा लैजान आफूहरूको भूमिका रहने बताएका छन् । अखिल नेपाल महिला संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले ‘घुम्तीमा दुर्घटना नरोस् भन्नेमा आफूहरू सचेत’ रहेको बताए ।

“देशको राजनीति गलत दिशामा नजाओस् भन्ने कुरामा हामी सजग छौँ । सही दिशातर्फ अघि बढेस् भन्ने पक्षमा छौँ । कताबाट बाटो घुम्छ विचार गरिरहेका छौँ,” उनले भने, “घुम्ती बाटोमा हिँड्दा दुर्घटनामा नपरोस् भन्नेमा विचार गरिरहेका छौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले सरकारका घटकलाई सन्तुलन गरेर अघि बढ्ने विषयमा ध्यान दिनुपर्ने बताए । “प्रत्येक पार्टीको मर्यादा, स्वाभिमान हुन्छ । सन्तुलनका साथ अघि बढ्नुपर्ने आवश्यकता छ । हामीले उचित व्यवस्थापन चाहेका छौँ,” नेता नेपालले भने ।

उनले आफ्ना पार्टीका नेता सरकारमा गए राम्रो काम गरेर देखाउन सक्ने जिकिर गरे । सत्ता, निर्वाचनमा मात्र नभएर विकासमा पार्टीको ध्यान रहेको उनको भनाइ थियो ।

अध्यक्ष नेपालले आफू प्रधानमन्त्री बन्ने हो कि भनेर अरू व्यक्तिहरूलाई पोल्न थालेको टिप्पणी गरे । “हामी प्रधानमन्त्री बन्छौँ कि भनेर कतिपयलाई पोल्न थालेको छ,” उनले भने, “तिनीहरूलाई पोले पोलोस् । दनदनी आगोले पोलोस् । त्यस्ता प्रवृत्ति बोक्नेलाई धिक्कार भन्नुपर्छ !”

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्