site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लगानी सम्मेलन सफल भयो,  हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रूपमा सफल भएको बताएका छन् । सोमबार बिहान सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरूसँगको साइडलाइन बैठकमा मन्त्री पुनले लगानी सम्मेलनमा विकास साझेदारहरुको सक्रिय सहभागिताले आफूहरू उत्साहित भएको बताए । विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरूको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको उनको दाबी छ । 

लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको लगानी गन्तव्य भएको पुष्टि गरेको मन्त्री पुनले बताए । बैठकमा विकास साझेदारहरुसँगको सहकार्यलाई आगामी दिनमा थप सुमधुर बनाइने प्रतिबद्धता जनाए । “जुनस्तरमा लगानीकर्ता, विकास साझेदार र सरोकारवालाहरूको उपस्थिति देखिएको छ, त्यसबाट लगानी सम्मेलन सफल भएको छ,” मन्त्री पुनले भने, “नेपाल लगानीका लागि उदयमान र आकर्षक गन्तव्य हो र यहाँ लगानीका प्रशस्त अवसरहरू छन् भन्ने तथ्यलाई स्थापित  गर्न हामी सफल भएका छौं ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सम्मेलनको उद्घाटन सत्रमा सरकारका तर्फबाट मात्र नभई प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति र प्रतिबद्धताले लगानी वातावरण बनाउने सन्दर्भमा सिंगो देश एक ढिक्का रहेको सन्देश विश्वभर प्रवाह भएको अर्थमन्त्री पुनको भनाइ छ ।  “उदघाटन सत्रमा प्रतिपक्षी दलका नेता, निजी क्षेत्रका प्रतिनिधि, विपक्षी लगानीकर्ताहरू र सम्बन्धित् सरोकारवालाहरूबाट नेपालमा लगानीका लागी राम्रो वातावरण बनेको सुन्न पायौँ,” उनले भने, “त्यो समर्थनका लागि सरकारका तर्फबाट भन्यवाद दिन चाहन्छु र भन्न चाहन्छु कि वास्वतमै यो हाम्रो सामूहिक शक्ति हो ।”

उनले लगानी सम्मेलनमा प्रदर्शनीमा राखिएका आयोजनाहरूमा विकास साझेदार र लगानीकर्ताको राम्रो आकर्षण देखिएकामा खुसी व्यक्त गरे । मन्त्री पुनले विगतदेखि गरिँदै आएको प्रतिबद्धताअनुसार लगानीमैत्री वातावरण बनाउन अध्यादेशमार्फत नौ कानुनमा गरिएको संशोधनले लगानीकर्तामा विश्वास बढेको अनुभूति भएको उल्लेख गरे ।

यस्तै विकास साझेदारहरुले चासो राख्खै आएको मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढेको जानकारी पुनले दिए । यस्तै मन्त्री पुनले सरकार नीतिगत सुधार र नीतिगत स्थायित्व कायम गर्न तथा काम गर्ने सिलसिलामा आइपरेका समस्या समाधान गरी लगानीे अनुकूल वातावरण तयार गर्न प्रतिबद्ध रहेको सन्देश लगानीकर्तालाई दिन विकास लगानीकर्तालाई आग्रह गरे । 

मन्त्री पुनले नेपालको ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय र पूर्वाधारका परियोजनाहरूमा प्रचुर सम्भावना रहेको औंल्याए । नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने अवधि नजिकै आइसकेको उल्लेख गर्दै उनले त्यसका लागि अरु क्षमता विकासलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।

मन्त्री पुनले  नेपाल दुई ठूला उदयमान अर्थतन्त्र भएका चीन र भारतको बीचमा रहेका कारण नेपालमा स्वदेशी तथा विदेशी लगानीका लागि ठूलो अवसर रहेको बताए ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्