site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायली नेतालाई हेग तानिने डर, पक्राउ पुर्जी जारी हुने आशंका 

जेरूसेलम । इजरायली अधिकारीहरूमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले युद्ध अपराधको आरोपमा उनीहरूका राजनीतिक नेता र सेनालाई पक्राउ पुर्जी जारी गर्न सक्ने विषयलाई लिएर निकै चासो बढ्न थालेको छ । 

रिपोर्टहरूका अनुसार त्यसमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पनि पर्न सक्छन् । हेगमा रहेको आईसीसीले इजरायलद्वारा अधिनस्थ क्षेत्रमा अनुसन्धान गरिरहेको जनाइएको छ । उसले इजरायलका अतिरिक्त हमासले पछिल्लो पटक गरेको आक्रमणको पनि अनुसन्धान गरिरहेको जनाइएको छ ।  आईसीसीले अन्तर्राष्ट्रिय कानुनअनुसार व्यक्तिगत रूपमा पनि यो अभियोग लगाउन सक्छ ।

आईसीसीले विगतमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, लिबियाका तत्कालीन नेता मोहम्मर गद्दाफी र युगाण्डाका वारलर्ड जोसेफ कोनीकाविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इजरायलका प्रधानमन्त्री नेतान्याहूले इजरायलका वरिष्ठ व्यक्ति वान्टेड सूचीमा पर्न सक्ने बताउँदै आईसीसीले इजरायललाई आफ्नो प्रतिरक्षा आफैँ गर्न नदिई पक्षपात तर्फ लग्न खोजेको आरोप लगाएका छन् ।

उनले सार्वजनिक रूपमा यो टिप्पणी गरेका हुन् । उनले यसो गर्नुमा पछाडिका केही कारण पनि छन् । यद्यपि, आईसीसीले इजरायलको भनाइबारेमा कुनै टिप्पणी गरेको छैन । आईसीसीका मुख्य अभियोजक करिम खान केसीले गएको डिसेम्बर महिनामा इजरायल अधिनस्थ पश्चिमी किनाराको भ्रमण भने गरेका थिए । बृटिस वरिष्टर रहिसकेका उनले हमासले आक्रमण गरेको इजरायली गाउँको पनि भ्रमण गरेका थिए । उनले त्यतिबेला राजनीतिक नेताहरूसँग भ्रमण गर्नुका साथै प्यालेस्टाइन पीडितहरूसँग भेट्न रमल्लाहको भ्रमण समेत गरेका थिए ।

उनले दुवै पक्षबाट सर्वसाधारणमाथि भएको ज्यादतीको निन्दा गर्दै छानबिन गरिने प्रतिबद्धता जनाएका थिए । उनको भनाई थियो, “सबै पक्षले अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्नुपर्दछ ।” उनले हमास र इजरायल दुवै पक्षको सो अवसरमा आलोचना गर्दै अन्तर्राष्ट्रिय मूल्य र मान्यताको सम्मान गर्न आग्रह गरेका थिए ।

इजरायलले आफू आईसीसीको सदस्य भइनसकेको कारण आफू उसको क्षेत्राधिकारमा नपर्ने जनाउँदै आएको छ । तर, अदालतले पश्चिमी किनारामा सन् २०१५ मा नै आफ्नो क्षेत्राधिकार बनाइसकेको जनाइएको छ । त्यतिबेला प्यालेस्टाइनले आईसीसीको संस्थापक विधान रोम विधानको अनुमोदन गरेको थियो । जसबाट पश्चिमी किनारा, पूर्वी जेरुसेलम र गाजा आईसीसीको क्षेत्राधिकारमा पर्ने बताइएको छ । पश्चिमाशैलीका प्रजातन्त्र भएका मुलुकमा  आईसीसीले अहिलेसम्म पक्राउ पुर्जी भने जारी गरिसकेको छैन । यदि नेतान्याहूमाथि यस्तो भयो भने उनी पहिलो व्यक्ति हुनेछन् । 

दक्षिण अफ्रिकाले इन्टरनेसनल कोर्ट अफ जस्टिजमा हालै एउटा इजरायल विरोधी मुद्दा दर्ता गरेको थियो । जसमा प्यालेस्टाइनमाथि गाजामा आमहत्या गरिएको आरोप थियो । त्यसको इजरायलले अस्वीकार गर्दै आएको छ । सो मुद्दाकाबारेमा गएको जनवरीमा अदालतले अन्तरिम आदेश दिँदै गाजामा आमहत्या रोक्नका लागि कदम चाल्न आग्रह गरेको थियो ।

इजरायली प्रधानमन्त्री र सेनामा त्यसप्रकारको वारेन्ट आएको खण्डमा उनीहरूलाई हिँडडुल गर्न समेत असहज हुनेछ । रोम विधान अनुमोदन गर्ने मुलुकले आईसीसीले कसैविरुद्ध वारेन्ट जारी गरेको छ भने पक्राउ गरेर बुझाउनुपर्नेछ । अहिलेसम्म विश्वका १२४ राष्ट्रले रोम विधान अनुमोदन गरिसकेका छन् । यद्यपि केही मुलुकहरूले आईसीसीको वारेन्ट पनि पछिल्लो समयमा अस्वीकार गर्दै आएका छन् । बीबीसी

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्