site stats
बाह्रखरी :: Baahrakhari
देश
वाग्मतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा

मकवानपुर । वाग्मती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजको नेवारी र तामाङ भाषालाई यही वैशाख २४ गतेदेखि व्यावहारिकरुपमा प्रयोगमा ल्याइने बताएका छन् । 

मन्त्री बज्राचार्यले वैशाख २४ गते बिहान ९ बजे काठमाडौंको वसन्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त दुवै भाषा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याइने कार्यक्रमको उद्घाटन गर्ने जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदेश सरकारले प्रदेशमा नेवाः (नेपाल) तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको खुसियालीमा सो दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनीमन्त्री गंगानारायण श्रेष्ठले बताए । 

उक्त भाषा प्रयोगमा ल्याइएको खुसियालीमा हुने कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न संस्कृतिमन्त्री बज्राचार्यको अध्यक्षतामा तीन सय पाँच सदस्यीय आयोजक समिति बनाइएको छ ।

वाग्मती प्रदेशसभाको केही महिनाअघि बसेको बैठकले प्रदेशमा सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ भाषाको विधेयक पारित गरिएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्