site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्ने गरी संसदीय समिति बनाउनुपर्छ : रमेश लेखक 

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकाले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि समेत छानबिन हुने गरी संसदीय समिति गठन गर्नुपर्ने बताएका छन् । 

मंगलबार सभामुख देवराज घिमिरेको आह्वानमा भएको प्रधानमन्त्रीसहितको छलफलपछि सञ्चारकर्मीसँग उनले सहकारीको रकम हिनामिना प्रकरणको सबै छानबिन गर्नेगरी संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मंगलबार बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नेगरी संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको थियो । 

तर, कांग्रेस प्रमुख सचेतक लेखकले गृहमन्त्री लामिछानेका विषयमा प्रश्न उठेकाले उनीमाथि पनि छानबिन गर्नेगरी समिति गठन गर्नुपर्ने बताए । 

“सरकार संघीय सदनको आगामी अधिवेशनमा प्रस्तुत हुँदा सहकारी हिनामिनामा छानबिन गर्न संसदीय छानबिन समिति गठन गरी प्रस्तुत हुनुपर्छ ।  गृहमन्त्रीको संलग्नता रहेको विषय चारैतिर देखिएको छ । उहाँको विषयमा पनि प्रश्न उठेपछि छानबिन गर्न समिति बन्छ भन्ने विश्वास राखेका छौँ,” उनले भने । 

गृहमन्त्री लाछिानेमाथि छानबिन हुनुपर्ने दोहोर्‍याउँदै उनले भने, “देशभर धेरै सहकारीमा लाखौँ मानिसको धेरै रकम हिनामिना भएको छ । मन्त्रीजीको बारेमा प्रश्न उठेपछि त्यसलाई सम्बोधन नगर्ने, गृहमन्त्री एक व्यक्ति हो र ? एकजनामाथि छानबिन नै नगर्ने भन्ने हुन्छ ? सदन र मिडियामा दिनदिनै राम्रो नेतामाथि प्रश्न उठ्नु ठिक होइन, उहाँमाथि प्रश्न उठेपछि छानबिन हुनुपर्छ ।”

सहकारीपीडितको कुरा सरकारले नसुनेको भन्दै उनले राज्यको निकाय नै दुरूपयोग भएको आरोप लगाए । आफूहरूले संसदीय छानबिन समिति बनाउनुपर्ने माग बैठकमा राखेको जानकारी दिँदै उनले समिति गठन हुने विश्वास लिएको बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्