site stats
बाह्रखरी :: Baahrakhari
देश
तापक्रम घट्न थाल्यो, काठमाडौंमा आज मध्यम वर्षाको सम्भावना 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । काठमाडौंका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ । 

कोसी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभागले दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । 

पहाडी भू–भागका थोरै तथा तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । 

काठमाडौंमा पनि आज वर्षा हुनेछ । “काठमाडौंमा आज वर्षा हुनेछ । अपराह्नपछि काठमाडौंमा वर्षा सुरु हुनेछ । केही स्थानमा भने बिहानैदेखि वर्षा भइरहेकाे छ,” मौसमविद् चिरञ्जिवी भेटवालले बाह्रखरीसँग भने, “वर्षा अपराह्नपछि सुरु भए पनि ठूलो वर्षा भने साँझतिर मात्रै हुनेछ ।” उनका अनुसार काठमाडौंमा भारी वर्षा नभए पनि मध्यमसम्म वर्षा हुनेछ ।

उनका अनुसार राति कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । 

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको केही स्थानमा साथै लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागका  एकदुई स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

कोसी, मधेस र वाग्मती  प्रदेशका एकदुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ । 

वाग्मती प्रदेशका सिन्धुली र तराईका केही भू–भागमा भने आज भारी वर्षाको सम्भावना रहेको मौसमविद् भेटवालले जानकारी दिए ।  

बंगालको खाडीबाट जलवास्पयुक्त हावा आउन थालेकाले आज केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । 

बंगालको खाडीबाट जलवास्पयुक्त हावा आउन थालेकाले तापक्रम केही घट्न थालेको छ । आइतबार नेपालगञ्जबाहेक अन्य ठाउँमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम नरहेको मौसमविद् भेटवालले बताए । नेपालगञ्जमा हिजो ४०.४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । केही दिन अगाडि पश्चिमी तराईका केही जिल्लामा तातो हावा चलेको थियो भने तापक्रम बढेको थियो । 

“जलवास्पयुक्त वायु आउन थालेकाले हिजोबाट नै तापक्रम केही कम हुन थालेको छ । आज पनि तापक्रम कम हुने पूर्वानुमान छ,” मौसमविद् भेटवालले भने, “काठमाडौंमा आज ३० देखि ३२ डिग्री सेल्सियससम्म रहने अनुमान छ ।” 

काठमाडौंमा शनिबार यो वर्षकै हालसम्म धेरै ३३.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०६:३८
प्रतिक्रिया दिनुहोस्