site stats
बाह्रखरी :: Baahrakhari
देश
विवाहको बहानामा मानव बेचबिखन : पाँच लाख लिएर बिहे गराइदिने मनमाया पक्राउ

काठमाडौं । प्रहरीले विवाहको बहाना बनाई चीन पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नुवाकोटको किस्पाङ गाउँपालिका–१ घर भएकी ४३ वर्षीया मनमाया घलेलाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई चिनियाँ नागरिकसँग विवाह गरेमा पाँच वर्षपछि ग्रिनकार्ड बनाउन मिल्ने आश्वासन दिएर उनले मानव बेचबिखन गरेको खुलेको जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार घलेले चिनियाँ नागरिकसँगको मिलेमतोमा पीडित महिलालाई जिल्ला अदालत काठमाडौं लगेर ‘कोर्ट म्यारिज’ गरिदिएकी थिइन् । विवाह गरी चीनमा पुर्‍याएपछि यौन शोषण गरी विभिन्न व्यक्तिसँग जबरजस्ती वेश्यावृत्तिमा लगाएको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

घलेले पाँच लाख रुपैयाँ लिएर बेचबिखन गरेको खुल्न आएको सूचना अधिकारी मिश्रले बताए ।

काठमाडौंको ठमेलबाट पक्राउ परेकी घलेलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  २२:४७
प्रतिक्रिया दिनुहोस्