site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा : प्रधानमन्त्री 

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताएका छन् । 

कोन्ज्योसोम गाउँपालिकाद्वारा आज आयोजित त्रिमूर्ति प्रतिमा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिनसक्ने बताए । उनले नीति तथा कार्यक्रममा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएर नीतिगत व्यवस्था गरिएको स्पष्ट पारे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारले अघिल्लो महिना मात्रै तेस्रो लगानी सम्मेलन उत्साहजनक रूपमा सम्पन्न गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त सम्मेलनमा ठोट्ने खोलाको पानी प्रयोग गरी उपत्यकाबासीको पानीको समस्या समाधान गर्न विदेशी लगानीकर्ताका लागि परियोजनाको प्रारूप प्रस्ताव गरिएको जानकारी दिए । “मेरो विश्वास छ– उक्त प्रस्तावअनुरूप यस आयोजनाका निम्ति विदेशी लगानी जुट्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसबाट पानीको बहुउपयोग हुने किसिमका बृहत् आयोजना सञ्चालन गर्न सम्भव हुनेछ ।” 

कोन्ज्योसोम गाउँपालिकाका केही वडाहरूलाई नयाँ सहरको रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका निम्ति आगामी दिनमा सम्भाव्यता अध्ययन हुँदै जाने बताए । उनले यस क्षेत्रका लेले–चन्दनपुर, नल्लु–चौघरे–उन्युचौर–मानिखेल–गोटिखेल र बिर्खेधारा–दलचोकी–शङ्खु–इकुडोल गरी तीन वटा सडक दक्षिण ललितपुरको ‘लाइफ लाइन’का रूपमा विकास हुने क्रममा रहेको र यसले ललितपुरको दक्षिणी क्षेत्रको विकासमा गुणात्मक फड्को हान्ने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्