site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मूल्य वृद्धिले उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै महासंघद्वारा ध्यानाकर्षण

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले ग्रिलजन्य फलाम र निर्माण सामग्रीको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको जनाएको छ ।  

महासंघले आज विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चापदार्थ ‘ब्लेड’को मूल्यमा वृद्धि नभए पनि नेपाली बजारमा मूल्य बढाइएको भन्दै महासंघले आपत्ति जनाएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

देशभर सञ्चालित ११ हजारभन्दा बढी ग्रिल उद्योगमा कार्यरत करिब एक लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख व्यक्तिको रोजगारी गुम्ने अवस्था आएकाले अस्वाभाविक मूल्य वृद्धिको अनुगमन गरी उचित कारबाही गर्ने व्यवस्था मिलाउन महासंघले सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएको छ ।

“यस्तो संवेदनशील विषयमा सरकारको ध्यानाकर्षण नभए सम्पूर्ण उद्योगी व्यवसायीले सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत उद्योग व्यवसायको साँचो सरकारलाई बुझाएर व्यवसाय बन्द गर्नुको विकल्प छैन”, महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “अस्वाभाविक मूल्य तुरुन्त फिर्ता गरेर सहज वातावरण नबनाए संघर्ष गर्न बाध्य हुने अवस्था आउँछ ।”

वार्षिक ५० अर्बभन्दा बढीको ग्रिलजन्य सामग्रीहरूको उत्पादन गर्दै आएका व्यवसायीको अहित हुनेगरी ठूला कम्पनीहरूले मनोमानी गरेको पनि महासंघको आरोप छ । विश्वव्यापी कोभिड–१९ तथा आर्थिक मन्दीको प्रभावका कारण बन्द भई मारमा परेका उद्योगहरू विस्तारै सञ्चालनमा आउन नपाउँदै पटक पटक ग्रिलजन्य फलाम र निर्माण सामग्रीको मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको अवस्थाप्रति महासंघले चिन्ता व्यक्त गरेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १९:१९
प्रतिक्रिया दिनुहोस्