site stats
बाह्रखरी :: Baahrakhari
खेल
गल्फ संघद्वारा गल्फर सुवाश तामाङ र पत्रकार श्याम चित्रकार सम्मानित

काठमाडौं । नेपाल गल्फ संघले वार्षिक साधारण सभाको अवसरमा पूर्व नम्बर एक एमेच्योर गल्फर सुवाश तामाङ र वरिष्ठ पत्रकार श्याम चित्रकारलाई सम्मान गरेको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सुवाशलाई सम्मान पत्र र नगद एक लाखसहित सम्मान गरेको हो । गल्फ संघले ७५ हजार र संघका उपाध्यक्ष फुर्साङ लामाले २५ हजार गरी सुबाशलाई एक लाख प्रदान गरिएको  हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पूर्व नेपाल नम्बर एक एमेच्योर खेलाडी तथा नेपाली गल्फको सर्वाधिक सफल गल्फर सुवाशले १३औं दक्षिण एसियाली खेलकुद सागमा ऐतिहासिक दोहोरो स्वर्ण जितेका थिए । उनले बंगलादेश ओपनमा सद्भाव आचार्यसँग टिम तर्फ स्वर्ण र व्यक्तिगत स्पर्धामा रजत जितेका थिए ।

यसैगरी सुवाशले १२२औँ संस्करणको अल इन्डिया एमेच्योर ओपनको उपाधि जिते । उनी भारतमा प्रतिष्ठित उपाधि जित्ने पहिलो नेपाली गल्फर बने । यही सफलताहरूको कदर गर्दै संघले सुवाशलाई सम्मान गरेको हो । सुवाशले यही वर्ष प्रोफेसनल करियरको सुरुवात गरेका छन् ।

यसैगरी वरिष्ठ पत्रकार श्याम चित्रकारलाई गल्फ खेलको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै नगद २५ हजारसहित सम्मान गरिएको छ ।

आजै नेपाल गल्फ संघको वार्षिक साधारण सभाले महासचिवमा दिपक आचार्य र सचिवमा श्रीराम भण्डारीलाई नियुक्त गरेको छ । संघको कार्यसमितिले प्रस्तुत गरेको मनोनयनको एजेन्डालाई साधारण सभाले पारित गर्दा आचार्य र भण्डारी नियुक्त भएका हुन् ।

यसैगरी साधारण सभाले महासचिव दिपक तथा कोषाध्यक्ष किसन अग्रवालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्‍यो ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २३:३४
प्रतिक्रिया दिनुहोस्