site stats
बाह्रखरी :: Baahrakhari
खेल
आफूविरुद्ध गरिएका अनर्गल प्रचारको कानुनी उपचार खोज्ने पारसकाे चेतावनी 
फाइल तस्बिर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफूविरुद्ध पदीय लाभ लिन गरिएका अनर्गल प्रचारको कानुनी उपचार खोजिने बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले क्रिकेट क्षेत्रकै आँच आउने गरी गरिएका अनर्गल प्रचारविरुद्ध कानुनी उपचार खोजिने बताएका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका खड्काले आफूले खेलाडीको रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा र संघको गरिमामाथि नै आँच आउने गरी पदीय लाभ लिन गरिएका अनर्गल प्रचारको उचित छानबिनसहित संस्थागत रूपमै कानुनी उपचार खोज्ने बताएका हुन् । 

‘...मैले २० वर्ष देशको लागि खेलाडीका रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउने गरी केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहीन वक्तव्यहरूको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिनसहित संस्थागत पद्धतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिनेछ,” खड्काले फेसबुकमा लेखेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

व्यक्तिगत राजनीतीक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई विश्वकपमा सक्दो हौसला प्रदान गरिदिन उनले आग्रह गरेका छन् । 

उनले फेसबुकमा लेखेका छन् :

नेपाल क्रिकेटको अभिभावकीय संस्था रहेको नेपाल क्रिकेट संघ ( क्यान)ले समग्र नेपाली क्रिकेट र खेलाडीहरूको पक्षमा काम गर्दै आएको छ। पछिल्लो नाै महिनायता नेपाल क्रिकेटभित्र भएका केही सराहनीय कार्यको फल स्वरुप सिंगो, संस्था नेपाल क्रिकेट संघ (क्यान) वर्तमान अवस्थामा सुमार्ग र सफलताको यात्रामा अघि बढिरहेको सर्वविदितै छ।    

कयौँ चुनौती र कठिनाइहरूलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैँमा महत्त्वपूर्ण रहेको छ । यद्यपि, यी सबैका बीच, संघका अध्यक्ष, सचिवलगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बद्‌नाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्यसहित यसै संघभित्रका केही सदस्यहरूले हरसम्भव प्रयास गरिरहनु भएको कार्य आफैँमा दुखद् हो।

नेपाली क्रिकेटमा खेलाडीको रूपमा मैले देशको झण्डा ओढ्दै यसको गरिमा र मान–प्रतिष्ठालाई थप उचाईमा लग्नका निम्ति गरेको २० वर्षको प्रयासलाई सम्झँदै यस खेलको विकासमा आफूलाई समर्पित गर्ने निधो गरेको हुँ। नेपाललाई क्रिकेटिङ राष्ट्रका रूपमा आत्मनिर्भर बनेको हेर्ने हामी सबैको सपनालाई साकार पार्दै नेपाल क्रिकेट संघको गरिमालाई थप उचाईमा पुर्‍याउनु मेरो लक्ष्य, जिम्मेवारी र प्रमुख कर्तव्य ठानेको छु – र यसै सपनालाई साकार पार्न संस्थागत रूपबाट केही गरौं भन्ने सोचका साथ खेलाडी जीवनबाट सन्यास लिंदै नेपाल क्रिकेट संघको जिम्मेवारीपूर्वक काम गर्न पाउनु मेरो लागि सबैभन्दा ठूलो अवसर समेत ठानेको छु। 

यस बीचमा मैले २० वर्ष देशको लागि खेलाडीका रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउने गरी केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहीन वक्तव्यहरूको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिनसहित संस्थागत पद्धतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिनेछ।

साथै, नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई समेत यस प्रकारका व्यक्तिगत राजनीतीक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन समेत हार्दिक अनुरोध गर्दछु।

विश्वकपजस्तो सर्वोच्च मन्चमा नेपाली राष्ट्रिय क्रिकेट टोली सहभागी भइरहेको यो समयमा हामी सबैको ध्यान र साँचो समर्थन हाम्रो टोली र खेलाडीहरू प्रति रहनु आवश्यक रहेको छ । यो क्षणमा हामी सबैको मुख्य प्राथमिकता भनेको क्रिकेट हो भन्ने पक्षलाई मनन गर्दै सिंगो विश्वसामु लडिरहेका हाम्रा खेलाडीहरूको मनोबल र हौसला बढाइदिनु हुन र नेपाली टोलीलाई समर्थन गरिदिनुहुन समेत अनुरोध गर्दछु।
 

 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्