site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी सरकारविरुद्धको रिट हेर्दाहेर्दैमा
फाइल तस्बिर ।

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिट हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा परेको मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

सर्वोच्चको अभ्यासमा हेर्दाहेर्दैमा राखिएको मुद्दा सोही इजलासले टुंग्याउने अभ्यास छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोसी प्रदेशमा संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्तावसमेत नराखी नयाँ मुख्यमन्त्री नियुक्त गरेपछि तत्कालीन मुख्यमन्त्री केदार कार्की नियुक्तिविरुद्ध सर्वोच्च आएका हुन् ।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीविरुद्ध अविश्वास प्रस्ताव लैजाने आधार नभएपछि सत्तारूढ दलहरूले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत वा राजीनामा दिन मिति तोकिएको संकल्प प्रस्ताव पारित गरेका थियो । त्यही संकल्प प्रस्तावले तोकेको मितिमा विश्वासको मत लिने प्रक्रिया अघि नबढाएको भन्ने प्रदेशसभाको पत्रका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । 

नियुक्तिविरुद्ध तत्कालीन मुख्यमन्त्री कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । आफू पदमा बहाल रहेकै बखत प्रदेश प्रमुखले अर्को व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गरी संवैधानिक पदमा बसेर असंवैधानिक भूमिका निर्वाह गरेको दाबी गर्दै कार्कीले प्रदेश प्रमुखलाई बर्खास्त गर्ने आदेशसमेत माग गरेका छन् ।

संविधानको धारा १६९ अनुसार मुख्यमन्त्री पदमुक्त हुने चार अवस्था नभई फरक बाटोबाट मुख्यमन्त्री नियुक्त भएपछि कोसीमा अंकगणित र संविधानको विवाद देखिएको हो । एमाले–माओवादीसहितका दलले एमाले संसदीय दलका नेता कार्कीलाई बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्री सिफारिस गरेपछि प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका छन् । तर, मुख्यमन्त्री हटाउन आवश्यक पर्ने संविधानिक व्यवस्था र संसदीय प्रक्रिया भने पूरा भएको छैन ।

त्यसैले सर्वोच्चबाट आउने फैसलाले सरकार निर्माणका लागि अंकणित वा संवैधानिक प्रक्रिया कुन महत्त्वपूर्ण हुन्छ भन्ने निर्क्यौल गर्नेछ ।

यसबाहेक संविधानको धारा १६८ (५) अनुसारको सरकार पटक–पटक परिवर्तन हुन सक्छ वा सक्दैन भन्ने व्याख्या पनि सर्वोच्चले गर्नेछ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्