site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतको पाठ्यपुस्तकमा बौद्ध धर्मलाई जातिवादी उल्लेख गरिएपछि चर्को विवाद

गुजरात । भारतको गुजरातमा कक्षा १२ को समाजशास्त्रको पाठ्यपुस्तकमा बौद्ध धर्मबारे लेखिएको एउटा पाठलाई लिएर विवाद उत्पन्न भएको छ । सो पाठमा ‘बौद्ध धर्मका दुई स्तर छन्, बौद्धको उच्च श्रेणीमा ब्राह्मण, क्षत्रीय र केही गृहस्थ श्रेणीका मानिस छन्, तल्लो श्रेणीमा बौद्ध धर्म अपनाउने आदिवासी र उपेक्षित मानिसको समूह छ’ भन्ने  उल्लेख गरिएको विषयलाई बौद्धमार्गीले आपत्ति जनाएका हुन् । 

बौद्ध धर्म जातिमुक्त भएको भन्दै उनीहरूले सो पाठले जातिलाई बढावा दिएको जनाएका छन् । बौद्ध धर्म एकेडेमीका सचिव रमेश बैंकरले बौद्ध धर्ममा कुनै उच वा नीचको व्यवस्था नभएको जनाएका छन् । गुजरातको लोकसेवा आयोगका पूर्वसदस्य मूलचन्द्र राणाले पनि बौद्ध धर्म सामाजिक बन्धनबाट पर रहेको बताएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोही पाठमा बौद्ध धर्मका पुजारीलाई लामा भनिने समेत उल्लेख गरिएको जनाउँदै राणाले केबल तिब्बती क्षेत्रमा नै बौद्ध पुजारीलाई लामा भनिने गरेको जनाएका छन् । अन्यत्र पुजारी भिक्षु हुने बौद्धमार्गीको भनाइ छ । राणाले पुस्तकमा बौद्ध धर्मले पुनर्जन्ममा विश्वास गर्ने भनिएकोमा त्यो पनि गलत भएको उल्लेख गरेका छन् ।

पुस्तकमा गलत विवरण आएको बारेमा गुजरात राज्य पाठ्यपुस्तक बोर्डका निर्देशक बीआर गोसाईले गल्ती स्वीकार गर्दै पछिल्लो पाठ्यपुस्तक २०१७ मा छापिएको र आफूहरूलाई बौद्ध धर्मसम्बन्धी विवरण गलत परेको भन्ने बारेमा पहिलोपटक प्रतिवेदन मिलेको जनाएका छन् । 

हालको पाठ्यपुस्तकमा २००५ मा छापिएको कुरा जस्ताको त्यस्तै छापिएको समेत उनले जनाएका छन् । उनले प्रमाणको जाँच गरी पुस्तक पुनः प्रकाशित गरिने बताएका छन् ।

बौद्ध धर्मावलम्बीहरूले सो पुस्तकमा छापिएको सामग्रीबारे कडा आपत्ति जनाउँदै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र राज्यपाल देवव्रत अयारीको पनि ध्यानाकर्षण गराएका थिए । बीबीसी

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०९:३१
प्रतिक्रिया दिनुहोस्