site stats
बाह्रखरी :: Baahrakhari
विदेश
असान्ज मामिला टुंगिनुमा के थिए पर्दा पछाडिका दृश्य ?

काठमाडौं । अन्ततः करिब १४ वर्षपछि विवाद टुंग्याएर विकिलिक्सका संस्थापक जुलियन असान्ज बुधबार अष्ट्रेलिया तर्फ लागेका छन् । अमेरिकी संवेदनशील सूचना चोेरेर प्रकाशित गरेको अभियोग भोगिरहेका उनी गल्ती महसुस गरेर अमेरिकी सहमतिअनुसार नै मुक्त भएका हुन् । 

उनको रिहाइबाट समग्रमा पत्रकारिता क्षेत्रका लागि गलत नजिर बसेको भन्ने पनि टिप्पणी भइरहेका छन् । तर, अहिलेको सन्दर्भमा कसरी यो कुरा निष्कर्षमा पुग्यो भन्ने कुरामा जाऔं ।  यो सबै हुनुमा  कुटनीति, राजनीति र कानुन तीन कुराको मिश्रणबाट नै सम्भव भएको मानिएको छ ।  असान्ज लन्डनस्थित जेलबाट पाँच वर्षपछि सोमबार मुक्त भएका छन् । उनले त्यसअघि नै करिब सात वर्ष नियन्त्रित जीवन बिताएका थिए भने त्यसपछिको पाँच वर्ष जेल जीवन बिताएका हुन् ।

क्राउन प्रोसिक्युसन सर्भिसले एक वक्तव्यमा अहिले भएको कानुनी समझदारीबारे भनेको छ, “मार्चमा हाम्रो ध्यान पहिलोपटक यसमा गयो ।  त्यसपछि नै अमेरिकालाई कुन संयन्त्रबाट असान्जलाई रिहा गर्ने र अमेरिकी संघीय न्यायाधीश अघि हाजिर गराउने भनेर सल्लाह दिइरहेका थियौं । उनको इच्छा र अमेरिकी सरकारको पनि त्यही विचार थियो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, लामो समयदेखिको डेडलक रहेको यो विषयलाई निष्कर्षमा पुर्‍याउने तयारी अष्ट्रेलियामा नयाँ सरकार मे २०२२ मा निर्वाचित भएपछि सुरू भएको थियो । सो सरकारले आफ्नो हातमा शक्ति लिएपछि  आफ्नो नागरिकलाई विदेशी हिरासतबाट घर ल्याउने दृढता देखाएको थियो ।

लेबर पार्टीका नेता तथा अष्ट्रेलियामा नयाँ प्रधानमन्त्री एन्थोनी अल्बानिजले आफूले असान्जले गरेका सबै कुराको समर्थन नगरेको तर अति नै भइसकेको कारणले उनलाई रिहा गर्ने समय भइसकेको जनाएका थिए ।

उनले बन्द ढोका भित्रैबाट सो मुद्दालाई प्राथमिकताका साथ व्यापक रूपमा अघि बढाएका थिए । “सबै परराष्ट्र मामिला असिना परेजस्तो ठूलो स्वर गरेर मात्र गरिँदैन,” उनले सो समयमा भनेका थिए । अल्बानिजलाई अष्ट्रेलियाको संसद्‌मा अन्य पार्टीको पनि समर्थन थियो ।

अष्ट्रेलियाली सांसदहरूको एउटा प्रतिनिधिमण्डल गएको सेप्टेम्बरमा अमेरिकी कंग्रेसमा प्रत्यक्ष रूपमा लबिङ गर्न गएको थियो । पछि प्रधानमन्त्री स्वयंले सो मामिला अक्टोबरमा भएको राजकीय भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसमक्ष नै उठाएका थिए ।

त्यसपछि अष्टेलियाको संसद्‌मा फेब्रुअरी महिनामा संसद्‌मा भएको मतदानमा अधिकांश सांसदले मतदान गरी असान्जलाई अष्ट्रेलिया फिर्ता गर्न अमेरिका र बेलायतलाई आग्रह समेत गरेका थिए । उनीहरूले अष्ट्रेलियाका लागि अमेरिकी प्रभावशाली राजदूत क्यारोलिन केनेडीसमक्ष समेत व्यापक लबिङ गरेका थिए ।

यसमा सबैभन्दा महत्त्वपूर्ण प्लेयर स्टेफेन स्मिथ थिए । उनी नयाँ अष्ट्रेलियन हाइ कमिस्नरको रूपमा २०२३ को सुरूमा लन्डन पुगेका थिए । कुटनीतिक स्रोतहरूले जनाएअनुसार अहिलेको  अवस्थामा ल्याउनका लागि त्यस मामिलालाई उनले व्यक्तिगत कुराकै रूपमा महत्त्व दिएर अघि बढाएका थिए । 

उनले असान्ज रहेको बेलमार्स जेलमा अप्रिल २०२३ मा भ्रमण गरेका थिए । उनी केभिन रुडको प्रधानमन्त्रीत्वकालका विदेशमन्त्री पनि हुन् । यो सम्झौताका लागि अहिले वासिङ्टनमा भएका अष्ट्रेलियन राजदूत पनि उत्तिकै लागेका थिए ।

सो समयमा अष्ट्रेलियाका केही मन्त्रीले असान्जको हिरासतलाई अरु अष्ट्रेलियाली नागरिकलाई इरान र चीनमा राखिएका राजनीतिक बन्दीसँग समेत तुलना गरेका थिए । अष्ट्रेलियामा असान्ज अभियानका एक कानुनी सल्लाहकार तथा वरिस्टर ग्रेग बार्नसले भने, “त्यो राजनीति हो, जसले फरक बनायो ।”

अल्बानिज सरकारले नै अमेरिकासँग त्यो मामिला पहिलोपटक उठाएको थियो । त्यसमा उनले स्वदेशका विपक्षीहरूको पनि साथ पाए । असान्जको मामिलामा सार्वजनिक रूपमा पनि अष्ट्रेलियामा दबाब थियो । मानिसले खोइ त्यसमा चासो ? भनेर प्रश्न उठाइरहेका थिए र त्यसले आमरूपमा दबाब बढाएको थियो ।

कानुनको विषय

त्यसपछि कानुनको कुरा आयो । बेलायतको उच्च अदालतले मे २० मा जुलियान असान्जलाई एउटा कानुनी लाइफलाइन दिएको थियो । त्यसमा उनलाई अमेरिका सुपुर्दगी हुनबाट रोक्न अर्को अपिल ल्याउन सक्ने भनिएको थियो । त्यसमा उनलाई अमेरिकी संविधानको पहिलो संशोधनमा दिइएको स्वतन्त्र अभिव्यक्तिको ‘डिफेन्स’ लिन सुझाव समेत थियो । सो रुलिङले सम्भवतः दुवै पक्षलाई दबाब दिएको थियो । त्यसैले लम्बिएको यो मामिलालाई टुंगोमा पुर्‍याउन दुवै पक्ष लागेका थिए । ह्याकिङका बारेमा गल्ती स्वीकार्न असान्जलाई लगाउने बारेमा अमेरिकी अधिकारीहरू पनि लचक भएका थिए । 

उता, असान्ज पनि लामो समयदेखि लम्बिएको यो मामिलाबाट हैरान थिए । यसै कारणले सायद दुवै पक्षलाई टेबलमा आउन बाध्य बनायो । हाइकोर्टको सुनुवाइ आउँदो जुलाई ९ र १० का लागि तोकिएकोले अहिले नै त्यसबारेमा कुनै सहमतिमा पुग्न सके राम्रो हुने दुवै पक्षले महसुस गरेका थिए ।

राजनीति

यसमा राजनीतिले पनि काम गरेको छ । अमेरिकीहरूले  नै यसबारेमा सहमति गर्ने इच्छा केही अघि नै देखाएका थिए । गएको वर्षको अगस्ट महिनामा अष्ट्रेलियाका लागि अमेरिकी राजदूत केनेडीले निष्कर्षमा पुग्ने माध्यम एउटा सहमति हुन सक्ने सुझाएकी थिइन् । सो कुरालाई अन्त्यमा असान्जका वकिलले पनि अघि सारे । त्यसपछि अप्रिलमा बाइडेनले असान्जबारेको अभियोजन रोक्नका लागि आफूले अष्ट्रेलियाको अनुरोध विचार गरिरहेको जनाएका थिए ।
अमेरिकी कुटनीतिज्ञहरु अष्ट्रेलियासँगको सम्बन्धको संरक्षण गर्न उत्सुक थिए । जसमा बेलायत पनि सहमत थियो । यी तीनवटै देश तथाकथित अउकस डिफेन्स एन्ड सेक्युरिटी पार्टनरसिपमा आवद्ध छन् । 

असान्जको विषयले लामो समयदेखि अमेरिका र बेलायतको सम्बन्धमा पनि  कुटनीतिक  उत्तेजना बढाउने काम गरेकोले यो  मामिला उनीहरू टुंग्याउन इच्छुक भएको बताइएको थियो ।  अनुमान यस्तो पनि थियो कि बाइडेन प्रशासन नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनअघि नै यो समस्याको समाधान गर्न चाहन्छ । असान्जका केही समर्थकले जनाएअनुसार बेलायतमा आउने लेबर सरकार पनि असान्जलाई अमेरिका सुपुर्दगी गर्ने कुरामा अनिच्छुक हुन सक्ने अमेरिकालाई पनि डर थियो ।

यद्यपि, ह्वाइट हाउसले मंगलबार यो सहमतिको मामिलामा आफ्नो कुनै हात नभएको र यो कानुन मन्त्रालयसम्बन्धी विषय भएको जनाइसकेको छ । अन्त्यमा उनीहरू लामो समयसम्मको कानुनी र कुटनीतिक विवादपछि सबै पक्ष एउटा विन्दुमा पुगेका हुन् ।  

यसै क्रममा असान्जले मुक्ति पाएका छन् । अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजका तर्फबाट मंगलबार जारी गरिएको वक्तव्यमा पनि असान्जका जेल जीवन बढाएर प्राप्ति केही पनि नहुने बताएका थिए । हुन पनि जे हुनु भइसकेको थियो दुवै पक्ष यसैमा अल्झेर कुनै फाइदा पनि थिएन । जुन आजबाट टुंगोमा पुगेको छ । एजेन्सीहरू
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्