site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसद पौडेलको प्रश्न– एसईईको नतिजाअनुसार विद्यार्थी कि सरकार फेल ? 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको राज्यको असफलता भएको बताएका छन् । उनले गुणस्तरीय शिक्षाको अभावमा नतिजामा विद्यार्थीले अयोग्य भएको ट्याग भिर्नुपरेको उनको भनाइ छ । 

शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारको असफलता एसईई नतिजामा देखिएको उल्लेख गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“पास फेल प्रणाली अन्त्य गरेर सबैलाई ग्रेडिङ सिस्टमभित्र पास फेल गर्ने प्रणाली सुरू गरियो । केही वर्ष अभ्यास गरे पनि शिक्षाको गुणस्तर कायम गर्न सकेन । यो वर्षदेखि ग्रेडिङ नन् ग्रेडिङ भनेर हामीले बुझ्ने भाषामा पास फेल प्रणाली विकास गरियो,” उनले भने, “यो प्रणालीमा ५२ प्रतिशत विद्यार्थी ग्रेडिङ भित्र परेनन् ।  ५२ प्रतिशत विद्यार्थी फेल भए यी विद्यार्थी फेल भएको कि सरकार फेल भएको हो ?”

सरकालाई दुई लाख ८२ हजार ३१३ विद्यार्थीलाई अयोग्य घोषण गर्ने सरकारलाई अधिकार नभएको भन्दै सांसद पौडेलले थपे, “तिमी अयोग्य हौ, पढेर खान सक्दैनौ, योभन्दा अघि उच्च शिक्षा हासिल गर्ने तिम्रो हैसियत छैन भनेर घोषण गर्न मिल्छ ? अयोग्य घोषणा गर्न सरकारले सक्छ ?”

उनले १० वर्षसम्म एउटा विषय पठाउँदा ३५ नम्बर ल्याउन नसक्ने कस्तो शिक्षा प्रणाली विकास गरिएछ भन्ने प्रश्न उठाए । 

“१० वर्ष पढाएर एउटा विषयमा ३५ नम्बर ल्याउन नसक्ने स्थिति कसरी आयो ? गणित ३८, ३१ प्रतिशत अंग्रेजी र ३० प्रतिशत विज्ञान विषयमा अनुत्तीर्ण छन्,” उनले भने, “१० वर्ष पढाएर ३५ नम्बर ल्याउन नसक्नेले कसरी गुणस्तरीय हुन्छ ? अयोग्य उत्पादन राज्यले गर्न मिल्छ ?”

सांसद पौडेलले नतिजा प्रणालीको कारण नभएको भन्दै शिक्षामा गुणस्तरीयता नभएको कारण भएको उल्लेख गरे । “हुने खाने सबैले निजी स्कुल पढाउने, सार्वजनिक विद्यालय सुधार गर्न विषय उठान गर्न नसक्ने भए राज्य निरन्तर फेल भइरहन्छ,” उनले भने ।
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्