site stats
बाह्रखरी :: Baahrakhari
देश
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ५२ प्रतिशत काम
फाइल तस्बिर ।

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो । 

यसबीचमा दुईपटक म्याद थपिएको छ । दोस्रो पटक थप गरिएको म्याद  सकिने अवस्थामा पुग्दा नवलपरासी पूर्वी खण्डमा ५२ प्रतिशत काम सम्पन्न भएको योजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले जानकारी दिए । 

योजनाको पूर्वी खण्डमा गैँडाकोटको नारायणी पुलदेखि दाउन्नेसम्म ६५ किलोमिटर पर्छ । चार ‘लेन’मा विस्तार गर्ने सडक दुईतर्फी गरेर १३० किलोमिटर कालोपत्र गर्नुपर्नेमा हाल दुईतर्फी गरेर ४४ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको सूचना अधिकारी खनालले बताए । उनले भने, “यस खण्डमा यात्रा गर्दा अहिले एकतर्फी २७ किलोमिटर कालोपत्र सडकबाट यात्रा गर्न सकिन्छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कालोपत्र गर्नका लागि ६ दशमलव ६ किलोमिटर सडकमा बेस तयारी अवस्थामा रहेको छ । निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले अहिलेको म्याद रहेको अवधिमा नयाँ थप काम नगरे पनि कालोपत्रको लागि तयारी रहेको छ । उक्त खण्डमा कालोपत्रे गर्ने योजना बनाएको सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरले बताए । बेस तयार भएको काम सके यात्रुलाई ६/७ किलोमिटर थप यात्रामा सहज हुने उनले बताए ।  

हालको भौतिक प्रगति चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले प्रतिबद्धता गरेकोभन्दा कम भएको उनको भनाइ छ ।

म्याद सकिने अवस्थामा रहेकाले अब यो योजना कसरी सम्पन्न गर्न सकिन्छ, कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको योजना उनले बताए । 

“५२ प्रतिशत काम सकिएको अवस्था छ । अहिलेको निर्माण कम्पनीबाट काम गरिसक्नुनै राम्रो हुनसक्छ”, उनले भने, “छलफल अघि बढ्दै छ, मुख्य कुरा अब यसको थप प्रगति कसरी छिटो हासिल गर्न सकिन्छ भन्नेनै हो ।”

सूचना अधिकारी खनालका अनुसार यस खण्डमा पर्ने  ठूला १२ वटा पुलमध्ये नौवटामा ‘स्ल्याब’ राख्नेसम्मको काम भएको छ । तीनवटाको समेत काम सुरु गरिएको छ । साना २२ वटा पुल निर्माण गर्नुपर्नेमा सबैको काम सम्पन्न भएको उनले बताए ।   

नारायणगढ–बुटवल खण्डको ११३ किलोमिटर सडकअन्तरगत पूर्वी खण्डमा ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ, दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण गर्ने गरी काम अघि बढिरहेको छ । 

करिब १७ अर्ब लागतमा निर्माणको काम जारी रहेको यो योजना लामो समयसम्म निर्माण सम्पन्न नहुँदा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् । रासस


 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्