site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शेरबहादुरजी आत्तिनुभएको होला, मुटुको धड्कन अलिअलि बुझिहालिन्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा (एमाले)सँगको सत्तासहकार्यबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा उनले देउवाको शरीर एमालेतिर भए पनि भावना आफूहरूसँग रहेको जिकिर गरे । सत्तासहकार्य राम्रो मनसायले भएको को कि होइन भनेर बुझ्नुपर्ने उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा देउवालाई आफूले बोलाएको उनले जानकारी दिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नकारात्मक रूपमा लिन्छन् कि भनेर देउवा अत्तालिएको हुन सक्ने टिप्पणी पनि गरे ।

संविधानमाथि आघात पुर्‍याउने कुनै कार्य सैह्य नहुने उनले चेतावनी दिए । उनले संविधान संशोधनजस्तो विषयलाई गुपचुपमा गर्न नसकिनेतर्फ पनि कांग्रेस–एमालेलाई सचेत गराए ।

अध्यक्ष नेपालले समाजवादी मोर्चालाई अघि बढाउन जरुरी रहेको भन्दै त्यसमा आफूले पहल गरिरहेको बताए ।

कार्यक्रममा माधव नेपालको भनाइ पढ्नोस्–
हामीले व्यापक रूपमा कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्नका लागि, एकताबद्ध हुनुअघि सहकार्य गर्नका लागि, सकिन्छ भने मोर्चा बनाएर अघि बढ्नका लागि हामी तयार भएर अघि बढ्न जरुरी छ । जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टी दुईवटैले समाजवादको कुरा लिँदै अगाडि बढिरहनुभएको छ । मार्क्सवाद, लेनिनवादलाई पनि अंगीकार गर्नुभएको छ । र, वैज्ञानिक समाजवादको यात्रामा जानुपर्छ भनेर भन्नुभएको छ । पृष्ठभूमिको हिसाबले पनि उहाँहरू जोडिनुभएको हुनाले हामीले उहाँहरूलाई यहाँ बोलाएका हौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई पनि बोलाएका थियौँ । शेरबहादुरजी आत्तिनुभएको होला, यहाँ आयो भने केपी ओलीले फेरि नकारात्मक रूपमा लिन्छन् कि भन्ने ठान्नुभएको होला । हामी बुझ्दछौँ यी सबै कुराहरू । यो मुटुको धड्कन अलिअलि बुझिहालिन्छ, त्यसो हुनाले केही फरक पर्नेवाला छैन । शेरबहादुरजी तपाईं आउन नपाए पनि तपाईंको भावना हामीसँग छ भन्ने ठानेका छौँ । शरीर त्यहीँ छ, मन यतापिट्ट छ । त्यसो भएको हुनाले अहिले नेपालको राजनीतिमा जुन प्रयास गर्नुभएको छ, त्यो राम्रो मनसायले हो कि होइन राम्ररी बुझनुहोला । यो संविधान संशोधनजस्तो विषय गोप्य रूपमा गर्ने विषय हो ? अवश्य पनि संविधानका धेरै विषयहरूमा बहसको आवश्यकता छ । लगभग १० वर्षको हाम्रो अभ्यासको समीक्षा गर्नुपर्ने आवश्यकता छ । तर, गुपचुपमा संविधान संशोधन गर्ने कुरा कति जायज हो ? त्यसो हुनाले मूल कुरा के हो ? संविधान संशोधन, होइन । मूल कुरा अर्कै छ, त्यो के छ नभनी हालौँ । त्यसो हुनाले आफ्ना–आफ्ना स्वार्थसिद्धी गर्नका लागि अनेक किसिमको जामा पहिरिए पनि वास्तविक समयमा उजागर हुनेछ । हामी जोड के दिन चाहन्छौँ भने– नेपाली जनताको ठूलो बलिदानबाट ल्याएको यो संविधानमा आघात पुर्‍याउने काम नहोस् । यो लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने र मास्ने कुनै पनि खालको काम नहोस् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्