site stats
बाह्रखरी :: Baahrakhari
खेल
डुवाना ३०औँ स्थानमा

काठमाडौं । नेपालकी डुवाना लामा पेरिस ओलम्पिक–२०२४ अन्तर्गत पौडीको महिला २०० मिटर फ्रिस्टायलमा सोमबार ३०औँ स्थानमा खुम्चिएकी छन् । सहभागी ३१ खेलाडीमध्ये डुवाना ३०औँ भएकी हुन् । हंगेरीकी निकोलेट पडार ‘डिस्क्वालिफाइ’ भइन् ।

पेरिसस्थित पेरिस ला डिफेन्स एरिनामा डुवानाले पहिलो हिटमा प्रतिस्पर्धा गरेकी थिइन् । हिटमा डुवाना सात खेलाडीमध्ये सातौँ भइन् । डुवानाले निर्धारित दूरी दुई मिनेट २०.७४ सेकेन्डमा पूरा गरिन् । डुवानाको व्यक्तिगत उत्कृष्ट समयभन्दा पनि यो बढी हो । डुवानाको व्यक्तिगत उत्कृष्ट टाइमिङ दुई मिनेट १२.४६ सेकेन्ड छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो स्पर्धामा दुई मिनेट ११.९४ सेकेन्डको राष्ट्रिय कीर्तिमान सागको एकै संस्करणमा चार स्वर्ण जितेकी तथा रियो दी जेनेरिया ओलम्पिक–२०१६ की सहभागीमध्ये सबैभन्दा कान्छी खेलाडी गौरिका सिंहको नाममा छ ।

डुवानाले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा स्थान सुरक्षित गरेकी थिइन् । उनले थाइल्यान्डमा अध्ययनसँगै ओलम्पिकको तयारी पनि गरेकी थिइन् । डुवाना पेरिसबाट नेपाल आउने र केही दिनको बसाइपछि थाइल्यान्ड फर्कने उनकी प्रशिक्षक नयना शाक्यले जानकारी दिइन् ।

पौडीमा नेपालबाट दुई खेलाडी सहभागी छन् । एलेक्जेन्डर शाहले जुलाई ३० मा पुरुष १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् ।

सन् २००४ को एथेन्स ओलम्पिकमा प्रतिस्पर्धा गरिसकेकी प्रशिक्षक शाक्यले एंकलमा समस्याका कारण डुवानाले सोचेअनुरूपको प्रदर्शन गर्न नसकेको बताइन् । पेरिस ओलम्पिकमा सहभागी पाँच नेपाली प्रशिक्षकमध्ये नयनासहित दुई ओलम्पियन छन् । अर्को ओलम्पियन प्रशिक्षकमा जुडोकी देबु थापा हुन् । देबुले २००८ को बेइजिङ ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

पेरिस ओलम्पिकमा डुवानासँगै तीन नेपाली खेलाडीको चुनौती समाप्त भइसकेको छ । टेबलटेनिसका स्यान्टु श्रेष्ठ र सुटिङकी सुस्मिता नेपाल यसअघि पहिलो चरणबाटै बाहिरिइसकेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्