site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हवाई सुरक्षाबारे प्रधानमन्त्रीसँग सभापति देउवासहित कांग्रेस सांसदको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेसका सभापति शेरबहादुर देउवासहित सांसदहरूले भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटमा देशको हवाई सुरक्षाबारे छलफल गरिएको जनाइएको छ । 

छलफलमा हवाई सुरक्षासँग जोडिएको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयकलाई संसद्बाट अगाडि बढाउनेलगायत समसामयिक विषयमा कुराकानी भएको कांग्रेस सांसद राजेन्द्र बजगाईंले जानकराी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भेटमा प्रधानमन्त्री र कांग्रेस नेताबीच हवाई सुरक्षा प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउँदै पर्यटन विकास र प्रवर्द्धनलगायत विषयमा छलफल भएको थियो ।

सांसद बजगाईंले भने, “हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणले सेवा प्रदायक र नियामक दुवै काम गर्दा स्वार्थ बाझिन्छ । त्यसैले एउटै निकायले विमानस्थल बनाउने, विमान सञ्चालनका लागि अनुमति पनि दिनु अन्तर्राष्ट्रिय हवाई अभ्याससम्मत देखिँदैन, त्यसैले प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायको रूपमा विभाजन गरी हवाई सुरक्षालाई थप सुदृढ र भरपर्दो बनाउन जरुरी छ ।”

युरोपेली संघ (ईयू)ले नेपालको हवाई सुरक्षाप्रति चासो जनाउँदै नियमनकारी निकायलाई विभाजन गर्न सुझावसमेत दिएको छ । छलफलमा कांग्रेस सभापति देउवा, सहमहामन्त्री जीवन परियार, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, सांसद ईश्वरी न्यौपाने, सञ्जय गौतम, उदयशमशेर राणा, राजन केसी, प्रतिमा गौतम, राजेन्द्र बजगाईं, सरिता प्रसाईं, रामकृष्ण यादव, पुष्पबहादुर शाही, शान्ति परियार, सीता मिजारलगायत सहभागी थिए ।

सांसद बजगाईंका अनुसार प्राधिकरणलाई दुई वटा निकाय बनाउने विधेयक यसअघि राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेस नभई निष्क्रिय भएको थियो । उक्त विधेयकमा नियामक निकायको जिम्मेवारी र सेवा प्रदायकका रूपमा बेग्लाबेग्लै निकाय बनाउने प्रस्ताव गरिएको थियो । रासस

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्