site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘यो पदक सिंगो नेपाल र सम्पूर्ण नेपालीको हो’ 

काठमाडौं । पेरिसमा जारी पारालम्पिक–२०२४ मा नेपाललाई तेक्वान्दोमा कांस्य पदक दिलाएकी पलेशा गोवर्धनले आफ्नो सफलता सिंगो नेपाल र सम्पूर्ण नेपालीको भएको बताएकी छन् । 

पलेशाले पारातेक्वान्दोको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी हुन् । “मेहनतको फल पाएको अनुभूति भइरहेको छ । यो पदक मेरो मात्र होइन । सिंगो नेपाल र सम्पूर्ण नेपालीहरूको हो । अब हामी गर्वका साथ भन्न सक्छौँ । ओलम्पिकमा हाम्रो पनि पदक छ भनेर,”  जितपछि पलेशाले भनिन्, “सबैको म प्रति भरोसा थियो, पदक जित्छ भनेर । उहाँहरुको भरोसालाई कायम राखेर देशका लागि पदक जित्न पाएकोमा खुसी छु ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार अबेर राति सम्पन्न रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी हुन् । रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् । रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनुजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । 

क्वार्टरफाइनलमा भने पलेशा आफूले अधिकांश समय अग्रता लिएको खेलमा अन्तिम समयमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसंग ८–१० ले पछि परिन् । सिल्भानले पनि कांस्य नै जितिन् । पराजित भए पनि पलेशाले रिपेचज खेल्ने अवसर पाइन् । क्वार्टरफाइनलदेखि पराजित हुनेलाई मात्र रिपेचेज खेल्ने अवसर दिइएको थियो । पहिलो चरणमै हार व्यहोर्नेलाई यो सुविधा थिएन । 

पलेशाले पाएको उपलब्धि नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो हो । कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले हालसम्म पदक जित्न सकेका छैनन् । नेपालले पारालिम्पिकमा सन् २००४ को एथेन्स तथा गृष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको थियो । 

गृष्मकालीन ओलम्पिकमा नेपालले तेक्वान्दोमै प्रदर्शनी खेलमा कांस्य जितेको इतिहास छ । सन् १९८८ मा दक्षिण कोरियामा भएको २४औँ संस्करणको सिओल ओलम्पिकमा विधान लामाले त्यो उपलब्धि हासिल गरेका थिए । प्रदर्शनी खेल भएकाले पदक तालिकामा भने उक्त पदकको गणना गरिएको थिएन । 

पलेशाका प्रशिक्षक कविराज नेगी लामाको भने प्रशिक्षकका रूपमा यो ११औँ अन्तर्राष्ट्रिय पदक हो । अन्तर्राष्ट्रिय लेभल–२ प्रशिक्षक लामाको प्रशिक्षणमा नेपाली खेलाडीले हालसम्म तीन स्वर्ण, दुई रजत र ६ कांस्य जितेका छन् । लामा नेपाली पारा तेक्वान्दोका सफल प्रशिक्षक हुन् । ६५ लाख पुरस्कार पाउने पेरिस पारालिम्पिक–२०२४ की ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशाले ६५ लाख रुपैयाँ नगद पुरस्कार पाउने छिन् । 

राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ मा भएको पुरस्कारसम्बन्धी व्यवस्थाअनुसार पलेशाले ६५ लाख नगद पुरस्कार पाउने भएकी हुन् । सोही नियमावलीमा भएको पुरस्कारअनुसार चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा पनि कांस्य जितेकी पलेशाले १३ लाख नगद पुरस्कार पाएकी थिइन् । त्यस्तै, प्रशिक्षकले पाँच लाख ८५ हजार, व्यवस्थापकले दुई लाख ९२ हजार र सम्बन्धित खेल संघले ११ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्