site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएको समस्या समाधान गर्न ऊर्जामन्त्रीकाे निर्देशन 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन् । अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’मा बोल्दै मन्त्री खड्काले समस्या देखाउनेमात्र नभई समाधानमा केन्द्रित हुन निर्देशन दिएका हुन् । 

“बिजुली उत्पादन गर्ने समय एक दिनमात्र ढिला हुँदा पनि राज्यले करोडौँको घाटा बेहोर्नुपर्छ, आयोजना र सिंगो मुलुकमा यसको प्रभाव पर्ने भएकाले समयमै सम्पन्न र वितरण हुनेगरी सानातिना समस्यालाई समाधान गर्नुपर्छ,” उनले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ऊर्र्जामन्त्री खड्काले सन् २०३५ सम्म नेपालमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले उक्त लक्ष्य पूरा गर्न आयोजना, प्रमुख जिल्ला अधिकारी र लगानी बोर्डको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनीसँग सहकार्य गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए । “आयोजनालाई अगाडि बढाउनका लागि कहाँ कहाँ अवरोध छन्, त्यससँग सम्बन्धित व्यक्तिहरू को को हुन्, त्यसको पहिचान गरेर प्रमुख जिल्ला अधिकारीले समाधान गर्न लाग्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु,” खड्काले भने । 

स्थानीयस्तरमा देखिएका समस्या समाधानका लागि सरकारले समेत सहयोग गर्नै उनको भनाइ थियो । ऊर्र्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि मन्त्रालयले सहयोग गर्ने बताए । उनले ऐलानी जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरिएको भन्दै त्यस्ता जग्गा भए लगानी बोर्डमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्