site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वडीआईजी जोशी भाग्ने तयारी गरेपछि पक्राउ परेका थिए ! निगरानीमा रवि

काठमाडौं । प्रहरीले सहकारीको रकम ठगी प्रकरणमा पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई पक्राउ गरेको छ ।  उनलाई काठमाडौं प्रहरीको सहयोगमा पोखरा प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार जोशीलाई प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गरेको हो । उनीहरु पक्राउ परेसँगै तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई समेत प्रहरीले निगरानीमा राखेको छ ।  उच्च प्रहरी स्रोतले भन्यो, “जोशीलाई जरुरी पक्राउ पुर्जी थमाएर समातिएको हो । उनी भाग्ने योजना बनाएको सूचना पाएपछि पक्राउ गरेका हौँ ।”

सहकारी संस्था बचत दुरुपयोग सम्बन्धी संसदीय विशेष समितिले प्रतिवेदनका आधारमा उनी पक्राउ परेका हुन् ।  समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन भदौ ३१ मा समितिले संसद्लाई बुझाएको थियो । 
सोही प्रतिवेदन गृहमन्त्रालयले आइतबार मात्रै प्रहरीलाई कार्यान्यनका लागि पठाएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी) ले सञ्चालन गरेका पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौैंको स्वर्णलक्ष्मी, चितवनको सहारा, वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलन भएको खुलाएको थियो ।

सहकारीमार्फत सिधै लामिछानेले रकम अपचलन नगरे पनि जीबी राईले नै नेतृत्व गरेको गोर्खा मिडिया नेटवर्कमार्फत् लामिछाने र पूर्वडीआईजी छविलाल जोशीकोसमेत संलग्नता देखिए पछि उनीहरु दुवैजनालाई कारबाही सिफारिस गरेको थियो । ग्यालेक्सी टेलिभिजनमा जोशीको ३५ प्रतिशत सेयर थियो भने रविको १५ प्रतिशस सयेर थियो । 

अर्घाखाँचीका जोशी पूर्वडीआईजी समेत हुन् । ५९ वर्षका जोशीलाई गोर्खा मिडिया नेटवर्कमा सहकारीको रकम लगेको र हिनामिना गरेको आरोप लागेको छ । उनीमाथि सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलको सदस्य भइ रकम गोर्खा मिडियामा ल्याएको देखिएको संसदीय छानबिन विशेष समितिले गरेको अनुसन्धानले देखाएको थियो ।

तर उनले उक्त विषयलाई अस्वीकार गरेका थिए । उनले सदस्यताका लागि आवेदन पनि नदिएको र उक्त सहकारीमा पुगेर केवाईएम फारम पनि नभरेको बताएका थिए । २०७५ सालमा डीआईजीबाट सेवानिवृत्त भएका उनी २०७७ सालमा नेचर हब्र्सको १० प्रतिशत सेयर लिएर डाइरेक्टर भएका थिए ।

उनी आफू गोर्खा मिडियामा पनि सुरुदेखि नै आवद्ध भएको बताएका थिए । सुरुमा गोर्खा मिडिया नेटवर्कमा जोशी र गितेन्द्रबाबु (जीबी) राईको ५०–५० प्रतिशत सेयर रहेर दर्ता गरिएको थियो । २०७७ मा दर्ता भएको उक्त कम्पनी २०७८ चैतमा पुँजी १२ करोड पुर्‍याउने निर्णय भएको थियो । सो प्रक्रिया गर्नुअघि नै उनीसँग भएको ५० प्रतिशत सेयरमध्ये १५ प्रतिशत रवि लामिछानेलाई बिक्री गरिएको थियो ।

कम्पनीको लागि ऋण लिन नेपाल बैंक न्युरोड शाखामा आफू, रवि लामिछाने र लेखा प्रतिनिधि गएको स्वीकार गरेका छन् ।  उनले आफू २०७८ मै त्यहाँबाट बिदा भएको दाबी गरेका छन् । आफू काठमाडौं परिसरमा रहेका बेला जीबी राई, दिपेश पुनलगायतका व्यक्तिहरु काम लिएर आएको र त्यहीँबाट सम्पर्क अघि बढेको बताएका छन् ।

जोशीले संसदीय समितिमा दिएको बयानअनुसार ग्यालेक्सी टीभीमा रवि लामिछाने सेयरहोल्डर भएपछि सर्बेसर्वा भएको र यो त्यहाँ ल्याइएको रकम कुन प्रयोजनका लागि कसरी आयो भन्ने विषयमा बोर्डको मिटिङ, माइन्युट र सरसल्लाह केही नभएको बताएका थिए ।

यस्तो छ उनले समितिमा दिएको बयान 

Chhabilal-Joshi-(1)-1726820518.jpg
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्