site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्वच्छ, निष्पक्ष र गुणस्तरीय न्याय सम्पादन गर्न प्रतिबद्ध : प्रस्तावित प्रधानन्यायाधीश राउत 

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न आफूले विशेष जोड दिने बताएका छन् । 

बुधबार संसदीय सुनुवाइ समितिसमक्ष आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रस्तावित प्रधानन्यायाधीश राउतले न्यायपरिषद्‌बाट हुने न्यायाधीश नियुक्ति लगायतका कामकारबाहीलाई प्रभावकारी बनाउने कुरामा आफूले ध्यान केन्द्रित गर्ने योजना रहेको पनि उल्लेख गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले नेपालको संविधान बमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु प्रधानन्यायाधीशको प्रमुख जिम्मेवारी रहेकोप्रति पनि आफू स्पष्ट र प्रतिबद्ध रहेको स्पष्ट पारे । प्रस्तावित प्रधानन्यायाधीश राउतले न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि आफू त्यत्तिकै सचेत र संवेदनशील रहेको बताए । न्यायालयमा तय गरिएका कार्ययोजना कार्यान्वयनका लागि बजेट, जनशक्ति लगायतका विषयमा देखिएको समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायसँग समन्वय र सहकारी अघि बढाउने पनि बताए । 

"न्यायपरिषद्‌बाट हुने न्यायाधीश नियुक्ति लगायतका कामकारबाहीलाई प्रभावकारी बनाई परिषद्प्रतिको विश्वासनीयतामा अभिवृद्धि गर्न विशेष जोड दिइनेछ । अदालतमा उपयुक्त कार्य वातावरणका लागि अदालतमा भौतिक पूर्वाधारको विकास र सुधारसम्बन्धी कार्ययोजना निर्माण गरी क्रमशः कार्यान्वयन गरिनेछ," राउतले कार्ययोजना प्रस्तुत गर्दै भने, "नेपालको संविधान बमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु मेरो प्रमुख जिम्मेवारी रहेकोप्रति म स्पष्ट र प्रतिबद्ध छु । न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि त्यत्तिकै सचेत र संवेदनशील छु ।" 

प्रस्तावित प्रधानन्यायाधीश राउतले न्यायपालिकाको मर्यादा कायम गरेर अघि बढ्ने कुरामा आफू सचेत रहेको पनि बताए । 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्