site stats
बाह्रखरी :: Baahrakhari
खेल
विश्व कराते च्याम्पियनसिपमा एरिका सहभागी हुँदै

काठमाडौं । एरिका गुरुङ इटालीमा आयोजना हुने १३औँ विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । यही असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा आयोजना हुने प्रतियोगितामा नेपालको एकल प्रतिनिधित्व गर्दै गुरुङ सहभागी हुन लागेकी हुन् ।

एरिकाले यू–२१ उमेर समूहको महिलातर्फ ६८ केजीमाथि तौलसमूहमा यही असोज २३ गते प्रतिस्पर्धा गर्नेछिन् । प्रतिस्पर्धाको सेमिफाइनल र फाइनल यही असोज २७ गते हुनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

क्याडेट र जुनियरको पनि प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा ११३ राष्ट्रका एक हजार ९९५ खेलाडीको सहभागिता रहने नेपाली टोलीका प्रशिक्षक समेत रहेका १०औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता कुशल श्रेष्ठले जानकारी दिए ।

एरिकाको यो छैटौँ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । विगतका पाँच वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा एरिकाले नेपाललाई कूल आठ पदक दिलाएकी छन् । त्यसमा चार स्वर्ण, तीन रजत र एक कांस्यपदक छ । एरिकाले यो सफलता एक वर्षमा हासिल गरेकी हुन् ।

एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १०औँ विश्व सितोरियो कराते च्याम्पिन्सिपमा स्वर्ण र कांस्य जितेकी थिइन् । त्यस्तै, एरिकाले १९औँ एसियाली खेलकुदमा रजत, अमेरिकाको टेक्सासमा भएको यूएस ओपन करातेमा स्वर्ण र रजत, भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा दुई स्वर्ण र चीनको हाङझावमा भएको २०औँ एसियाली सिनियर कराते च्याम्पिन्सिपमा रजत पद जितेकी थिइन ।

प्रतियोगितामा सहभागी हुने एरिकासहित चार सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले आज शुभकामना दिँदै बिदाइ गरे ।

इटाली जाने टोलीमा एरिकासँगै तारा गुरुङ र सन्तोष श्रेष्ठ रहेका छन् । नेपाली टोली भोलि इटाली प्रस्थान गर्नेछ ।

सदस्य–सचिव घिसिङले रणनीतिक तयारीअन्तर्गत एरिकाले सहभागी हुने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता र तालिमका लागि राखेपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सफलताका लागि शुभकामना प्रदान गरे । 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  २२:१४
प्रतिक्रिया दिनुहोस्