site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा

काठमाडौं । हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउन्टेन एकेडेमीका विद्यार्थी मनाङको थोरङ हिमचुली क्षेत्र पुगेका छन् । एकेडेमीका सातौँ ‘सेमेस्टर’ का १६ विद्यार्थीले ६ हजार १०० मिटर अग्लो थोरङ हिमचुलीसमेत आरोहण गरे । 

उनीहरुले यही असोज १७ गते बिहीबारका दिन थोरङ हिमचुली आरोहण गरेको एकेडेमीबाट खटिएका प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक पेम्बाओङचु शेर्पाले जानकारी दिए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल माउन्टेन एकेडेमीको स्नातक तह (बीएमएस)मा अध्ययनरत विद्यार्थी प्रयोगात्मक अध्ययनका लागि त्यहाँ पुगेका हुन् । 

उक्त तहको पाठ्यक्रमअनुसार विद्यार्थीले हिमालमै गएर हिमाल आरोहण, ‘ग्लेसियर वाकिङ’, ‘र्‍यापेलिङ’, ‘एसेन्डिङ’, ‘डिसेन्डिङ’, उद्धारलगायतका सीप सिकेका छन् ।

प्रत्येक विद्यार्थीले फरक–फरक शीर्षकमा प्रयोगात्मक अध्ययन गरेका छन् । मनाङमा वार्षिक रूपमा घाँस काट्ने दिन सुरु हुने चरणदेखि, हिमाल आरोहणमा प्रयोग हुने सामग्रीको परीक्षण, ‘लिभ नो ट्रेस’, ‘ट्रेल’ मा रहेको फोहोरको अवस्था तथा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)को भूमिका, आरोहणको क्रममा हुने ‘बडि वेट लस’, थोरङ हिमचुलीको हिउँको अवस्था, गाँसवास व्यवस्थापन तथा थोरङ हिमचुलीको ‘प्रोफाइलिङ’ सम्पन्न गरिएको उक्त प्रयोगात्मक आरोहणका प्रमुख प्रशिक्षक शेर्पाले जानकारी दिए । 

‘प्लस टु’ पछि पढ्न पाइने बीएमएस अर्थात् ‘ब्याचलर अफ माउन्टेनरिङ स्टडिज’का विद्यार्थीले पढाइसक्ने वित्तिकै रोजगारी पाउने गरेको र हाल ९० प्रतिशत रोजगार रहेको एकेडेमीले जनाएको छ । 

हाल बीएमएस तहमा विभिन्न ट्रेकिङ कम्पनीमा कार्यरत, इन्जिनियर र चारजना पाइलटसमेत अध्ययनरत छन् । रासस

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्