site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
माथिल्लो तामाकोसीको क्षति अझै यकिन भएन, पूर्ण सञ्चालनमा आउन सात महिना लाग्ने 

काठमाडौं । देशकै ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाबाट छिट्टै विद्युत् उत्पादन हुने सम्भावना न्यून देखिएको छ । अविरल वर्षापछिको बाढीपहिरोका कारण क्षति पुगेपछि यही असोज ११ गतेदेखि त्यहाँबाट उत्पादन बन्द छ ।

आयोजनाको प्रारम्भिक अध्ययनानुसार करिब दुई अर्ब रुपैयाँबराबरको क्षति पुगेको माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले जानकारी दिए ।

माथिल्लो तामाकोसी आयोजनामा क्षति पुगेसँगै आउँदो हिउँदयाममा लोडसेडिङ हुने त होइन भन्ने चिन्ता छ । सुक्खायामका निम्ति नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअप’का रूपमा रहेको यो आयोजनामा क्षति पुगेपछि हिउँदमा कसरी प्रणाली सन्तुलनमा ल्याउने भन्ने चिन्ता थपिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रत्येक वर्ष सुक्खायाम लम्बिँदै गएको अवस्थामा तामाकोसी आयोजना सञ्चालन हुन नसक्दा हिउँदमा प्राधिकरणले कसरी बिजुली सन्तुलन मिलाउने भन्ने चिन्ता थपिएको बताउँछन् ।

प्राधिकरणले यसअघि हिउँदमा दिउँसो पानी जम्मा गर्ने र उच्च माग हुने समयमा सञ्चालन गरी माग पूर्ति गर्दै आएको थियो । माथिल्लो तामाकोसी चारदेखि ६ घण्टालाई पुग्ने ‘पिकिङ’ जलाशय आयोजना समेत हो ।

उता, प्रमुख गौतम भन्छन्, “आयोजनामा के कति क्षति भएको छ भन्ने अझै यकिन भएको छैन । यसको पूर्ण जानकारी आएपछि मात्रै थाहा हुन्छ । तिहारसम्म एउटा डिस्यान्डरबाट न्यूनतम क्षमतामा चलाउने योजना छ ।”

प्रारम्भिक रूपमा हेर्दा क्षतिको यकिन गर्न सकिने अवस्था नरहेको गौतम बताउँछन् । “कति क्षति भएको भनेर हेर्न काम हुँदै छ,” उनी भन्छन्, “हालसम्म हेर्दा करिब दुई अर्बको हाराहारीमा पुग्ने देखिएको छ ।”

उनका अनुसार, आयोजना पूर्ण रूपमा सञ्चालनमा आउन करिब ६÷७ महिना लाग्ने देखिन्छ ।

यहाँ पानी जम्मा गरेर उच्च मागको समयमा ४५६ मेगावाट विद्युत् उत्पादन गर्ने गरिएको छ । बाढीले आयोजना बन्न लामो समय लागेको खण्डमा गत वर्ष जगेडा उत्पादनमा रहेको नेपालको ऊर्जा क्षेत्र यसपालि धेरै घाटामा जानेछ ।

हालैको बाढीपहिरोका कारण दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा क्षति पुगेको थियो । 

तामाकोसी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युमेक हो । उक्त दिन तामाकोसी नदीको बहाव बाँधस्थलमा ४६१ क्युमेक पुगेको थियो ।

प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौताबमोजिम नदीमा पानीको बहाव २५० क्युमेक हुनासाथ विद्युत्गृह बन्द गर्नुपर्ने प्रावधान छ । सोहीअनुसार असोज ११ गते बेलुका ७ बजेदेखि आयोजना बन्द गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्