site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पहुँचका भरमा छानिएका १७ सडक र १४ पुल अलपत्र
फाइल तस्बिर : दूधकोसी नदीमा पुल निर्माण गर्न शिलान्यासपछि राखिएको शिलापत्र ।

विराटनगर । पर्याप्त अध्ययनबिना पहुँचका भरमा नेताको क्षेत्रमा केन्द्रित गरिएका कोसी प्रदेश सरकारका पुल तथा सडकका ३१ वहुवर्षीय आयोजना अलपत्र बनेका छन् । ती आयोजनाको भौतिक प्रगतिको निकै कमजोर छ । 

भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार कार्यालयले निर्माण सुरु गरेका आयोजना अघि बढ्नै नसक्ने अवस्थामा पुगेका छन् । नियमित बजेटको अभावमा प्रदेशले थालेका निर्माण सम्बन्धी कार्य सुचारु गर्नेतर्फ खासै काम हुन सकेको छैन । प्रदेशको पहिलो कार्यकालदेखि नै थालिएका ती आयोजना पूरा गर्न बजेटको समेत अभाव देखिएको छ ।
 
भौतिक पूर्वाधार विकास मन्त्रालयकाअनुसार प्रदेश सरकारद्वारा निर्माणाधीन संकटग्रस्त र अस्तव्यस्त वहुवर्षीय सडकहरू १७ वटा छन् । संकटग्रस्त अवस्थाका १४ पुल अधुरो अवस्थामा छन् । तिनको निर्माणले कसरी गति लिन्छ भन्ने यकिन छैन । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सडक संजालमार्फत प्रदेशका क्षेत्रलाई अन्तर जिल्ला जोड्न निर्माण कार्य थालिए पनि ठोस योजनाका साथ अघि नबढाइँदा समस्या भएको भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले बताएका छन् । उनले भने, “संकटग्रस्त र क्रोनिक अवस्थामा रहेका पुल तथा सडकको सूची तयार गरी पुनः अध्ययन गरिरहेका छौँ । अब बजेटको व्यवस्थापनबारे समेत ठोस कार्यनीति बनाएर अघि बढ्छौँ ।”

मन्त्रालयका अनुसार ओखलढुंगामा ३, मोरङमा ५, उदयपुरमा २, भोजपुरमा २, संखुवासभामा १ र झापा ४ गरी जम्मा १७ सडक आयोजना अपलत्र छन् । यसैगरी विभिन्न जिल्लाका खोला नदीमा निर्माण थालिएका १४ पुल ‘क्रोनिक’ अवस्थामा छन् ।
 
पूर्वाधार विकास कार्यालय ओखलढुंगाबाट काम थालिएको मानेभन्ज्याङ माधवपुर सिन्धुली खन्गसाइग सडक कालोपत्रे, बेलटार बजार–कम्फुघाट पामाखाम–मयुरडाँडा हुँदै साल्पा पोखरीबाट दुदिँल खोलु सल्लेरी, ओखलढुंगा, निर्वाचन क्षेत्र नम्बर १ रिङरोड (रुम्जाटार–जन्तरखानी–रावादल–खिजिफलाटे–हर्कपुर–रातमाटेमाम्खा) सडकको काम ठप्प छ ।
 
पूर्वाधार कार्यालय मोरङअन्तर्गत बबियाबिर्ता रंजनी काजिमान्चोक फर्सदंगी हुँदै दोभानघाट गान्धीआश्रम दोबरिया थान हुँदै सुनवर्षी सडक, कटहरी गाउँपालिका वडा नम्बर ५ रिङरोड, धरान १५ निरज बस्ती हुँदै हर्दिया पेलपुर ढाडे क्यापोखरी सडक, महेन्द्रनगरको बांगेबाट हल्दिया कालाबंजर तिनकुने भलुवा चौरी हुँदै धरान जाने सडक, विराटनगर वडा नम्बर ५ बाट जोगबनी भारतीय सिमाना जोड्ने सडकको काम रोकिएको छ । 

यसैगरी पूर्वाधार कार्यालय उदयपुरअन्तर्गत मैनामैनी–हसनपुर–चुहार सडक र यसकै दोस्रो खण्ड, भोजपुरमा भोजपुर–टक्सार–मानेभन्ज्याङ–बैकुण्डे–बासिखोरा–रानीटार सडक, संखुवासभामा मानेभन्ज्याङ–चन्दनपुर, झापामा इलाम बजार–सन्दकपुरका दुबै प्याकेज, झापामा धरमपुर–कुन्जीबारी सडक र गौरादह स्कुल चौन–डिल्लीवाद सडकको काम अघि बढ्न सकेको छैन । 

प्रदेश सरकारले निकै महत्व दिएका पुलहरूको काम भने निकै संकटग्रस्त देखिएका छन् । पिखु खोला, खदम खोला, मादाखोला, सिरान लेदुवा, पिन्गुवा खोला, पिलुवा खोला, रातमाटे फेदी, सभाखोला, मोठी खोला, लेगुवा खोला, तामुटार, दूधकोसी नदी र सिद्धी खोलामाथि बनाइने तयारी गरिएका पुलको प्रगति न्यूनतम ४० प्रतिशत देखिएको छ । 

सहरी विकास तथा भवन कार्यालय मोरङले निर्माण गरिरहेको कोसी रिफ्रेसमेन्ट सेन्टर र जोगबनी सिमाना रानीमा निर्माणाधीन प्रवेशद्वारको कामसमेत अघि बढ्न नसकेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
 
कोसी प्रदेश सरकारको सबैभन्दा बढी बजेट विनियोजन हुने भौतिक पूर्वाधार मन्त्रालयको बेरुजू समेत अत्यासलाग्दो देखिन्छ । मन्त्रालयअन्तर्गत कुल बेरुजू दुई अर्ब ३९ करोड ८ लाख ८० हजार छ । 

भौतिक पूर्वाधार विकासमन्त्री राई भन्छन्, “नयाँ बनेको गठबन्धन सरकारले बेरुजू घटाउने र अलपत्र परेका दीर्घकालीन महत्वका विकास कार्य अघि बढाउने योजनासाथ काम गरिरहेको छ ।”
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०७:५९
प्रतिक्रिया दिनुहोस्