site stats
बाह्रखरी :: Baahrakhari
कला
दीपक भन्छन्– सिनेमाबाट पैसा आयो तर खुसी छैनौँ, समीरलाई दिए शुभकामना

काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरीले पैसा कमाए पनि आफूहरू खुसी नरहेको बताएका छन् । चलचित्र ‘छक्का पञ्जा–५’बाट पैसा आए पनि आफू र आफ्नो टिम खुुसी नरहेको उनको भनाइ छ ।

“सिनेमा चल्यो । हाम्रो झोलीमा पैसा पनि आयो । तर हामी खुसी छैनौँ,” शुक्रबार पत्रकार सम्मलेन गर्दै दीपकले भने, “हामीले जित्यौँ, हामीसँगै आएको अर्को सिनेमा (१२ गाउँ)ले पनि कमायो । उसले पनि जित्यो । तर, समग्र नेपाली चलचित्र उद्योगले हार्यो भने के हुन्छ ?” 

नेपाली चलचित्र उद्योगमा नकारात्मक संस्कारको विकास भएको उनको भनाइ छ । नकारात्मक प्रवृत्ति विकास स्वयं चलचित्रकर्मीहरूले नै गरेको उनको भनाइ छ । “यो नेगेटिभिटीको विकास अरुले गरेको होइन । हामी चलचित्रकर्मीले नै गरेका हौँ । यसको भागिदार म पनि हुँला,” उनले भने, “जसको कमजोरी भए पनि हामीले यो प्रवृत्ति हटाउनुपर्छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आफ्नो चलचित्रको प्रचार नेगेटिभिटीका कारण पनि धेरै गर्न नपाएको उनको भनाइ छ । “छक्का पञ्जा–५ को प्रचार सामग्रीमा पसेर एउटा चलचित्र हेरौँ, अर्कोलाई बहिष्कार गरौँ भनेर गाली आउँछ,” दीपक अगाडि भन्छन्, “फलानो चलचित्र जिन्दाबाद, फलानो चलचित्र मुर्दाबाद भनिरहेका छन् । यो राम्रो होइन ।” एकले अर्कोलाई शुभकामना दिनसक्नुपर्नेमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको उनको भनाइ छ । यद्यपि, बिराज भट्टसँग आफ्नो पनि कुरा नभएको उनी बताउँछन् । 

अस्वस्थ प्रतिस्पर्धा भइरहेको भन्दै उनले एकले अर्कोलाई सम्मान गर्नसक्नुपर्नेमा जोड दिए । 

चलचित्रका समाचार र जानकारी आउनु स्वभाविक भए पनि अहिले चुनावी परिणाम आएजस्तो भइरहेको उनको भनाइ छ । कसले कति कमायो, कसको कति शोजस्ता कुरामा प्रतिस्पर्धा भइरहेको भन्दै उनले असन्तुष्टि जनाए । 

‘छक्का पञ्जा–५’ राम्रो छ भनेर भन्नेलाई गाली गर्ने, फेसबुकको पोस्ट डिलिट गराउन फोन आउनेजस्ता क्रियाकलाप गलत भएको दीपक बताउँछन् । अष्ट्रेलियामा ‘छक्का पञ्जा’ हेर्न नजाऊ भनेर फोन आउने गरेको भन्दै आफूलाई वितरकको फोन गरेको उनले जानकारी दिए । 

दीपकले आफूहरूले चलचित्र छायांकन गरेको गाउँ नै बाढीले बगाएको भन्दै तिहारपछि आफैँ गएर आर्थिकसँगै भौतिक सहयोग गर्ने बताए । “हामीले जहाँ सुटिङ गर्यौं त्यहाँको गाउँ नै बगाएको छ,” उनले भने, “केही समयपछि हामी त्यहाँ गएर आर्थिक सहयोगसँगै पुनर्निर्माणमा पनि जुट्ने छौँ । मन खोलेर ठूलै सहयोग गर्नेछौँ ।”

उनले ‘छक्का पञ्जा–५’को अघिल्ला सिरिजहरूभन्दा धेरै ओपनिङ रहेको बताए । पहिलो हप्ताको कलेक्सन पनि यसअघिका सिरिजको भन्दा धेरै रहेको उनको भनाइ छ । 

दीपकले नामै नलिई समीर भट्टको आगमनको स्वागत गर्दै शुभकामना पनि दिए ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्