site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाले भन्यो– अब परिवर्तनको लडाइँ थप बुलन्द भयो

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई गरिएको पक्राउप्रति भर्त्सना गरेको छ । शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरिएपछि एक विज्ञप्तिमार्फत रास्वपाले 'संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको पुष्टि गरेको अवस्थामा पनि पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको' निष्कर्ष निकालेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"तथापि रास्वपा विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार छ । तर, कानुनका छिद्रमा टेकेर रास्वपा र हाम्रा सभापति माथि साँधिने राजनीतिक प्रतिशोध हामीलाई कदापि स्वीकार्य छैन," रास्वपाले भनेको छ ।

रास्वपाले अगाडि लेखेको छ, "बिना कारण, बिना आधार सभापतिलाई पक्राउ गरेर आम जनाताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको सहजै बुझ्न सकिन्छ । गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाइडबडी जस्तो अरबौँको घोटालामा आपसी समझदारीमा एक अर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन् ।"

रास्वपाले आफूहरू नडराएको बरु अब परिवर्तनको लडाइँ थप बुलन्द भएको जिकिर गरेको छ ।

"हामी डराएका छैनौँ, तर्सिएका हैनौँ । अब परिवर्तनको लडाइँ थप बुलन्द भएको छ," विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  २१:५७
प्रतिक्रिया दिनुहोस्