site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विदेशमा शरण लिएका सिरियाली नागरिकलाई नवनियुक्त प्रधानमन्त्रीले बोलाए फिर्ता

रोम । लामो समयदेखि राष्ट्रपति रहँदै आएका सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि प्रधानमन्त्री बनेका नयाँ संक्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका नागरिकलाई स्वदेश फर्कन आह्वान गरेका छन् ।

विद्रोही समूहहरूले मार्चसम्म देश सञ्चालनका लागि संक्रमणकालीन सरकार प्रमुखको रूपमा नियुक्त गरेका मोहम्मद अल–बसिरले इटालीको कोरिएरे डेला सेरा दैनिकसँगको कुराकानीमा भने, “पहिलो लक्ष्य ‘विदेशमा रहेका लाखौँ सिरियाली शरणार्थीहरूलाई फिर्ता ल्याउनु’ हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विदेशमा रहेका नागरिकको मानव पुँजी र अनुभवले देशलाई आर्थिक रूपमा फस्टाउन सहयोग गर्ने भन्दै आफ्नो पहिलो काम विदेशमा रहेका सिरियाली नागरिकलाई स्वदेश फिर्ता गर्नु रहेको उनले बताए । 

इस्लामिक नेतृत्वको विपक्षी गठबन्धनले सिरियाको राजधानी दमास्कसमा पाँच दशक लामो क्रूर शासनको अन्त्य गरेपछि असद सिरियाबाट भागेका थिए ।

सिरियामा करिब १४ वर्ष लामो गृहयुद्धमा परी पाँच लाख मानिसको मृत्यु हुनुका साथै आधा जनसंख्या कुनै न कुनै रूपमा विस्थापित बनेको थियो ।

असदको पलायनसँगै देशले अहिले ठूलो अनिश्चितताको सामना गरिरहेको छ । इसाई, कुर्द र अलावीलगायत देशका विविध समुदायहरू अब बसिरले कस्तो सरकारको नेतृत्व गर्छन् भनेर पर्खिरहेका छन् । रासस/एएफपी

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्