site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल खण्ड, पृथ्वी राजमार्गको आँबुखैरेनी-पोखरा खण्डलगायतका सडकहरूमात्र होइन कतियप सहरभित्रका अधिकांश निर्माण कार्यबाट जनसाधारणले निकै सास्ती पाइरहेका छन् । यस्तो सास्तीको कारणमा मूलतः ठेक्का पाउनेबित्तिकै भत्काउने काम गरिहाल्ने तर बनाउन चाहिँ हतार नगर्ने प्रवृत्ति जिम्मेवार देखिन्छ । 

सरकारले पूर्वपश्चिम राजमार्गको बुटवल-चन्द्रौटा खण्डमा अहिलेको भद्रगोले निर्माण शैलीमा सुधार गर्न लागेको छ । अब अहिले कायम रहेको सडकको कालोपत्रे भागलाई नभत्काई पहिले दायाँबायाँ छेउबाट काम सुरु गर्ने विधि अपनाइनेछ । यसबाट जनसाधारणले पाउने सास्ती अपेक्षाकृत निकै कम हुनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भत्काउने काम एकैपटक गर्न पाउँदा ठेकेदारलाई केही सजिलो हुन्छ होला तर विकल्प नदिई सार्वजनिक सुविधा भत्काउँदा त्यसबाट हुने हानिका तुलनामा ठेकेदारको सुविधा वा लाभ नगन्य हुने देखिन्छ । वर्षौं अलपत्र पारिएका योजना निर्माण क्षेत्रका बासिन्दा र उपभोक्ता चुक्ता गरिरहेको मानवीय तथा आर्थिक क्षति निकै धेरै हुन्छ ।

योजना अलपत्र पारिँदा राज्यले पनि ठूलो मूल्य चुकाउनु परिरहेको छ । नारायणगढ - बुटवल वा आँबुखैरेनी-पोखरा खण्डको निर्माणका क्रममा भएको असुविधा र ढिलाइबाट भएको आर्थिक क्षतिको मात्र पनि मूल्याङ्कन गर्ने हो भने सम्भवतः त्यसको कुल लागतभन्दा बढी हुनेछ । मानवीय कष्ट र क्षतिको त मूल्य तोक्नै सकिँदैन ।

बुटवल-चन्द्रौटा खण्डमा अपनाइएको विधि सहरभित्रका सडकहरूमा पनि अपनाउने हो भने  काठमाडौंका बासिन्दाले यसअघि पाएको जस्तो सास्ती पाउनु पर्ने थिएन । अझ सहरभित्रका सडकहरूमा त अहिलेको ठेक्कापट्टा विधि नै बदल्नु लाभदायक हुनसक्छ । ससाना काम ठेक्कामा लगाउनुभन्दा अमानतमा जिम्मा दिनु किफायती र सहज हुनेछ । 

सरकारले ठेक्कामा दिएको अधिकांश योजना समयैमा सम्पन्न हुँदैनन् । यसका ठेकेदार र सम्बन्धित सरकारी कर्मचारीको मिलेमतोमा हुने बदमासीका साथै अहिलेको खरिद ऐनले पारेको अप्ठेरो पनि जिम्मेवार देखिन्छ । यसैले बुटवल-चन्द्रौटा खण्डमा नयाँ विधि अपनाएजस्तै ठेक्कापट्टाको विधिमा पनि समीक्षा र सुधार गर्नु आवश्यक छ । यस्तो सुधार गर्दा जनसाधारणको हितलाई पहिलो प्राथमिकता दिइनुपर्छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्