site stats
बाह्रखरी :: Baahrakhari
देश
रविको २७ र छविको ७४ करोडको स्रोत नखुलेको प्रहरी निष्कर्ष ! पाँचजनाको सम्पत्ति जफतको राय 

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धान पूरा गरेको कास्की प्रहरीले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको २७ करोड ८९ लाख रुपैयाँ स्रोत नखुलेको भेटेको छ । 
त्यस्तै पूर्वडीआईजी छविलाल जोशीसँग भएको ७४ करोड ३४ लाख रुपैयाँको स्रोत नखुलेको हुँदा बिगोसहितको माग दाबीका लागि सिफारिस गर्न प्रहरीले राय दिएको छ । 

लामिछानेको परिवारका नाममा रहेको सम्पत्ति जफत गर्नुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन दिएको प्रहरीको एक उच्च अधिकारीले जानकारी दिए । कास्की प्रहरीले सोमबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय कास्कीलाई बुझाएको थियो । 

रविको परिवारका सदस्यसहित पाँच जनालाई मुद्दा नचलाई सम्पत्ति भने जफत गर्नुपर्ने राय दिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ती प्रहरी अधिकारीले भने, ‘‘सम्पत्ति शुद्धीकरणबारे रवि लामिछानेको हकमा मुद्दा चलेका कारण उनको परिवारका सदस्यलाई मुद्दा नचलाई सम्पत्ति भने जफत गर्नुपर्ने राय प्रहरीले दिएको छ । बाँकी सरकारी वकिल कार्यालयले कसरी मुद्दा दर्ता गराउँछ, त्यसमा भर पर्छ ।’’

प्रहरी अधिकारीका अनुसार, सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान गरेको प्रहरीले लामिछानेको २७ करोड ८९ लाख रुपैयाँ स्रोत नखुलेको भेटेको जनाएको छ ।

लामिछाने र जोशीलाई उक्त रकम बराबर बिगो कायम गरी मुद्दा चलाउन प्रहरीले राय दिएको छ । त्यसरी नै सहकारी ठगीतिर जोशीलाई पाँच करोड २६ लाख र लामिछानेको हकमा तीन करोड ३७ लाख विगो दाबी गरिएको छ । 

त्यसरी नै सूर्यदर्शन सहकारी ठगीमा हाल फरार रहेका गितेन्द्रबाबु राई जीबीका हकमा ३४ करोड रुपैयाँ ठगी र एक अर्ब ८६ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरणको बिगो कायम गर्नुपर्ने राय प्रहरीले दिएको छ । 

प्रहरीको प्रतिवेदनमाथि जिल्ला सरकारी वकिल कार्यालयले अभियोजनका लागि काम थालिसकेको छ । त्यसबाहेक सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका र फरार प्रतिवादीको हकमा कुल एक अर्ब ५१ करोड रुपैयाँ बिगो कायम हुनुपर्ने राय प्रहरीले प्रतिवेदनमा दिएको छ । 

प्रहरीले सूर्यदर्शन सहकारीमा प्रकरणमा रवि र छविसँगै कुल ५१ जनालाई प्रतिवादी बनाएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनबारे यसअघि मुद्दा अदालत पुगिसकेको छ ।

गएको असोज १८ गते सहकारीको रकम अपचलन प्रकरणमा कुल १९ जनालाई प्रतिवादी बनाइएको थियो भने एक अर्ब ३५ करोड बिगो दाबी गरिएको थियो । पुनः थप ३२ जनालाई प्रतिवादी र विगो थप १६ करोड गरेर कुल एक अर्ब ५१ करोड र प्रतिवादी तथा संख्या ५१ पुगेको प्रहरी स्रोतको भनाइ छ ।

रवि र छविसहित पाँच जना पूरक जाहेरीका आधारमा पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो । प्रतिवादी बनाएकाहरूमा बाग्लुङग ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसमेत छन् ।

उनी बाग्लुङकै अर्को इमेज सहकारी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि जेलमा छन् । 

कास्की प्रहरीले पक्राउ परेका रवि र छविसहितका आरोपीलाई तीन वटा मुद्दामा कारबाही माग गर्दै अनुसन्धान प्रतिवेदन सोमबार सरकारी वकिल कार्यालय बुझाएको हो ।

उनीहरूमाथि सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगीमा कारबाही माग गरिएको छ । कास्की प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ परेको ८५ दिनमा अनुसन्धान सकी सरकारी वकिल कार्यालय बुझाएको हो । उनी असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यस्तै रवि लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।

उनीहरू हाल कास्की प्रहरीकै हिरासतमा छन् । जिल्ला सरकारी वकिल कार्यालय पुस ६ गतेभित्र मुद्दा अदालत दर्ता गरी सक्नुपर्ने कानुनी व्यवस्था छ । जिल्ला सरकारी वकिल कार्यालयले भने प्रहरीले लिएको दाबी विगो र प्रतिवादीहरूका हकमा समेत हेरफेर गरी मुद्दा दर्ता गराउन सक्छ । पक्राउ परेकामाथि जिल्ला अदालत कास्कीले मंगलबार चार दिन थुनामा राख्न अनुमति दिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्