site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘नेपाली उत्पादन’ पोर्टल बनाउँदै सरकार, विदेशी कच्चा पदार्थ प्रयोग भएका वस्तु पनि ‘स्वदेशी’
फाइल तस्बिर ।

काठमाडौं । सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग बढाउन ‘नेपाली उत्पादन’ नामक एक वेब पोर्टल सञ्चालनमा ल्याउने भएको छ । सरकारले ल्याएको ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१’ उक्त कुरा उल्लेख गरिएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘नेपाली उत्पादन’ नामक वेब पोर्टल सञ्चालनमा ल्याउने छ ।

“मन्त्रालयले स्वदेशी वस्तुको खरिदलाई सहज र व्यवस्थित गर्न ‘नेपाली उत्पादन’ नामक एक विद्युतीय पोर्टल बनाई कार्यान्वयनमा ल्याउने छ,” निर्देशिकामा भनिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निर्देशिका अनुसार, सार्वजनिक निकायलाई स्वदेशी वस्तु उपलब्ध गराउन चाहने उत्पादकले स्वदेशी वस्तुको नाम, परिमाण, खुद्रा तथा थोक बिक्री मूल्य, उत्पत्तिको प्रमाणपत्र, उत्पादनको गुणस्तर र मापदण्डलगायत स्पेसिफिकेसन संलग्न गरी पोर्टलमा सूचीकृत गराउनुपर्नेछ ।

“सूचीकृत गर्ने कार्यमा उद्योग तथा व्यवसायसँग सम्बन्धित निजी क्षेत्रका छाता संगठन वा वस्तुगत संघले आवश्यक समन्वय र सहयोग गर्नु पर्नेछ,” निर्देशिकामा उल्लेख छ ।

सार्वजनिक निकायले आफूले खरिद गरेको स्वदेशी वस्तुको विवरण तथा रकम विद्युतीय पोर्टलमा राख्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

वैदेशिक अनुदान तथा ऋण सहायताबाट सञ्चालित परियोजनाको हकमा विकास साझेदारसँग भएको सम्झौताबमोजिम हुनेछ ।

निर्देशिकामा स्वदेशी वस्तुको परिभाषा दिइएको छ । निर्देशिकामा भनिएको छ, “‘स्वदेशी’ वस्तु भन्नाले स्वदेशी कच्चा पदार्थको प्रयोग गरी स्वदेशमा उत्पादित वस्तु सम्झिनुपर्छ र सो शब्दले विदेशी कच्चा पदार्थको प्रयोग गरी स्वदेशमा उत्पादन, निर्माण वा जडान भएको र कम्तीमा तिस प्रतिशतसम्म मूल्य अभिवृद्धि भएको वस्तुसमेतलाई जनाउँछ ।” 

निर्देशिकामा सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीले उपलब्ध भएसम्म स्वदेशी उद्योगबाट निर्मित पोसाक प्रयोग गर्नुपर्ने जनाइएको छ । यस्तै, सार्वजनिक निकायका पदाधिकारीले कुनै उपहार प्रदान गर्दा स्वदेशी वस्तु प्रयोग गर्नु पर्नेछ ।

“सार्वजनिक निकायबाट आयोजना हुने कार्यक्रम, गोष्ठी वा सेमिनारमा आवश्यक पर्ने वस्तुको प्रयोग गर्दा उपलब्ध भएसम्म स्वदेशी वस्तुको प्रयोग गर्नु पर्नेछ,” निर्देशिकामा भनिएको छ ।

सार्वजनिक निकायले निर्देशिकाबमोजिम स्वदेशी वस्तुको खरिद वा प्रयोग गरे वा नगरेको सम्बन्धमा सम्बन्धित निकायको प्रमुखले नियमितरूपमा र मन्त्रालयले त्रैमासिकरूपमा निरीक्षण तथा अनुगमन गर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्