site stats
बाह्रखरी :: Baahrakhari
देश
पेट्रोलको भाँडामा आगो सल्कँदा घर जलेर नष्ट, एकजना घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । दोलखामा आगलागी हुँदा एकजना घाइते भएका छन् । जिरी नगरपालिका–२, छेर्मादिङस्थित ढुंगा र माटोबाट निर्मित जस्ताको छानो रहेको दुईतले कच्ची घरमा आगलागी भएको हो ।

स्थानीय ३४ वर्षीय भीमबहादुर खड्काको उक्त घरमा बुधबार (हिजो) बेलुका करिब ८ बजेतिर आगलागी भएको थियो । भान्साकोठामा ट्रयाक्टरमा प्रयोग गर्न राखिएको ‘पेट्रोल’को भाँडामा आगो सल्कँदा घर जलेर नष्ट भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“किचनको नजिकै ट्रयाक्टरमा प्रयोग गर्ने पेट्रोलको भाँडा राखिएको रहेछ, त्यसमा आगो सल्किएर आगलागी भएको उहाँहरू (परिवार)ले भन्नुभएको छ,” प्रहरी निरीक्षक घनेन्द्र हाङ खजुमले बाह्रखरीसित भने ।

आगो निभाउने क्रममा घरधनी खड्का घाइते भएका भएका थिए । उनको बायाँ खुट्टाको घुँडामुनिको भागमा आगोले पोलेको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा बुधबारै राति करिब ९ः५० बजे आगलागी नियन्त्रणमा लिइएको थियो । घाइते खड्का जिरी अस्पतालमा उपचारपश्चात् बिहीबार बिहान ‘डिस्चार्ज’ भएका प्रहरी निरीक्षक हाङ खजुमले बताए ।

आगलागीबाट करिब ३३ लाख रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको भन्दै खड्काले प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १०:०३
प्रतिक्रिया दिनुहोस्